धनगढी, ८ माघ / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ले बृहत्तर चुनावी रणनीति निर्माणका लागि धनगढीमा रणनितिक बैठक सम्पन्न गरेको छ। बैठकले कांग्रेसलाई जिताउन पार्टीभित्र एकता कायम गर्दै संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
रणनितिक बैठकमा सहभागी अधिकांश वक्ताहरूले नेपाली कांग्रेसको चुनाव चिन्ह रुख र चारतारे झण्डा बाहेक अरू कुनै चिन्ह नचिन्ने स्पष्ट धारणा व्यक्त गर्दै पार्टीका उम्मेदवारलाई जिताउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका हुन्। बैठकले नेपाली कांग्रेसका तर्फबाट कैलाली – ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह (मनु) लाई विजयी गराउने संकल्प समेत दोहोर्याएको छ।
बैठकले निर्वाचन परिचालन समितिको संरचना समेत तय गरेको छ। भिम पडाल को संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन समितिको सचिवालय जिल्ला पार्टी कार्यालयमा रहने निर्णय गरिएको छ। यस्तै सचिवालय समितिको संयोजकमा हरिश खड्का रहने छन् भने आवश्यक सदस्यहरू रहने व्यवस्था गरिएको छ।
यसैगरी, पार्टीको घोषणापत्र निर्माण समितिको संयोजकमा जिल्ला सचिव नृपबहादुर सुनार रहने निर्णय गरिएको छ। बैठकमा नेपाली कांग्रेसका राना, नि वर्तमान प्रतिनिधि सभा सदस्य डिल्लाराज पन्त, सुशिला मिश्र भट्ट, नृपबहादुर वड,सुनिता राना, केशव मिश्र ,यज्ञराज उपाध्याय, सीताराम राना,केशवराज जाेशी लगायत नगर, क्षेत्र, वडा तहका नेता तथा प्रतिनिधिहरूले आ-आफ्ना धारणा राखेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार नरनारायण शाह (मनु) ले निर्वाचन जित्न सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आ-आफ्नो क्षेत्रबाट सक्रिय सहयोगको अपेक्षा रहेको बताए। उनले पार्टीभित्रको एकता नै जितको मुख्य आधार हुने धारणा व्यक्त गरे।
क्षेत्र नम्बर ५ का सभापति भिम पडाल को अध्यक्षतामा सम्पन्न बैठकले आगामी निर्वाचनमा कांग्रेसलाई निर्णायक जित दिलाउने गरी रणनीतिक रूपमा अघि बढ्ने निष्कर्ष निकालेको छ।