धनगढी, ८ माघ / प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ का लागि सुदूरपश्चिम प्रदेशमा दर्ता भएका मनोनयन पत्रको विवरणले प्रदेशको राजनीतिक वास्तविकता उजागर गरेको छ। प्रदेशका सात पहाडी जिल्लामा महिलाको उम्मेदवारी न्यून देखिएको छ, भने अधिकांश निर्वाचन क्षेत्रमा पुरुष उम्मेदवारको वर्चस्व कायमै रहेको छ।
निर्वाचन आयोगमा दर्ता विवरणअनुसार सुदूरपश्चिम प्रदेशभरि कुल २ सय १० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। तीमध्ये महिलाको संख्या १८ जना मात्र रहेको छ भने १ सय ९२ जना पुरुष उम्मेदवार छन्।
प्रदेशका पहाडी जिल्ला डोटीमा १ जना महिलाको उम्मेदवारी बाहेक अन्य ६ जिल्ला अछामका २ निर्वाचन क्षेत्र, बझाङ, बाजुरा , बैतडी, दार्चुला र डडेल्धुराका अधिकांश निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी दर्ता भएकै छैनन्। अछामका दुवै निर्वाचन क्षेत्र, बाजुरा, बझाङ, बैतडी, दार्चुला र डडेल्धुराका सबै निर्वाचन क्षेत्रमा पुरुष उम्मेदवार मात्रै चुनावी प्रतिस्पर्धामा रहेका छन्।
कैलाली र कञ्चनपुरमा महिला उम्मेदवारी केही देखिए पनि संख्या सीमित नै छ। कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये ११ जना महिला उम्मेदवार छन् भने कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमा ६ जना महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
तर यी उम्मेदवारमा पनि देशका ठूला पार्टीबाट भने महिलाहरूको सहभागिता न्यून नै देखिन्छ ।
प्रदेशस्तरको तथ्याङ्कले हेर्दा महिला उम्मेदवारी कागजी सहभागितामै सीमित देखिएको छ। संविधानले सुनिश्चित गरेको समावेशी प्रतिनिधित्व व्यवहारमा कार्यान्वयन हुन नसकेको अवस्था यो निर्वाचनमा पनि दोहोरिएको देखिन्छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा महिला उम्मेदवार नदेखिनु राजनीतिक दलहरूको उम्मेदवार छनोट प्रक्रियामा अझै पनि पुरुषकेन्द्रित सोच हाबी रहेको संकेतका रूपमा हेर्न सकिन्छ।