धनगढी,३ माघ / विज्ञान, प्रविधि तथा व्यवस्थापन अभ्यासका क्षेत्रमा देखिएका नयाँ प्रवृत्तिहरूलाई केन्द्रमा राखेर ‘उदीयमान विज्ञान, प्रविधि र व्यवस्थापन अभ्यास’ (ETSTMPs–2026) विषयक पहिलो राष्ट्रिय सम्मेलन माघ ५ र ६ गते धनगढीमा आयोजना हुने भएको छ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस ऐश्वर्य बहुमुखी क्याम्पस अन्तर्गतको रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा हुने उक्त सम्मेलन हुन लागेको क्याम्पस प्रमुख नरेश पन्तले बताए।
सम्मेलनमा विज्ञान, प्रविधि र व्यवस्थापनका क्षेत्रमा देखिएका नवीन अनुसन्धान, प्रविधिगत विकास, व्यवस्थापनका उदीयमान अभ्यास, अनुसन्धान संस्कृति प्रवर्द्धन तथा शैक्षिक-औद्योगिक सहकार्यका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ। देशभरका अनुसन्धानकर्ता, प्राध्यापक, शिक्षाविद्, विद्यार्थी तथा नीति निर्माणसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहने क्याम्पस परिवारले जनाएको छ।
ऐश्वर्य मल्टिपल क्याम्पस, धनगढीमा आयोजना हुने यस सम्मेलनले सुदूरपश्चिम क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको निवर्तमान क्याम्पस प्रमुख धर्मदेव भट्टले बताए।
सम्मेलनले आगामी दिनमा शैक्षिक अनुसन्धान, प्रविधि विकास र व्यवस्थापन अभ्यासमा नयाँ दिशा दिने अपेक्षा गरिएको क्याम्पस प्रमुख पन्त बताए।