अछाम , २ माघ / निरन्तर ७ वर्षसम्म प्रहरी, अदालत र राज्यका निकाय धाउँदा पनि न्याय नपाएको पीडाले अछामकी एक महिलाले सामाजिक सञ्जालमा अन्तिम स्टाटस लेखेर आत्महत्या गरेकी छन्। पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाकी ३८ वर्षीया जानकी धमलाले कानुन, समाज र परिवारबाट एक्लिँदै जाँदा जीवन अन्त्य गरेकी हुन्।
श्रीमान्ले आफूलाई थाहै नदिई दोस्रो विवाह गरेपछि जानकी न्याय खोज्दै वडा कार्यालयदेखि उच्च अदालतसम्म पुगिन्। अन्ततः उच्च अदालतले बहुविवाह ठहर गर्दै सजाय सुनाए पनि परिवारिक बहिष्कार, धम्की र छोराछोरीबाट टाढा पारिएको पीडाले उनलाई झन् कमजोर बनायो।
न्यायिक प्रक्रियापछि पनि सुरक्षित नभएको जीवन, सम्बन्धविच्छेदको मुद्दा र सन्तानसँग भेटघाटमा रोकले उनलाई गहिरो मानसिक आघात पुर्यायो। घटनाअघि फेसबुकमा पीडा पोख्दै ‘मेरो लागि कोही भएन’ भन्दै लेखेकी जानकीले अन्ततः आत्महत्याको बाटो रोजिन्।
घटनापछि उनका आफन्तले आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् भने दोषीलाई कारबाही नगरेसम्म शव नबुझ्ने अडान लिएका छन्।