धनगढी , २७ पुस / आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन- २०८२ का लागि सुदूरपश्चिम प्रदेशभर निर्वाचनसम्बन्धी तयारी तीव्ररूपमा अगाडि बढेको छ। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टका अनुसार प्रदेशअन्तर्गत रहेका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल १७ लाख १६ हजार ६ सय ६० जना मतदाता रहेका छन्।
प्रदेशभरका मतदातामध्ये ८ लाख ५२ हजार २ सय १९ जना पुरुष, ८ लाख ६४ हजार ४ सय २२ जना महिला तथा १८ जना अन्य मतदाता रहेका छन्। यस तथ्याङ्क अनुसार सुदूरपश्चिममा महिला मतदाताको संख्या पुरुषभन्दा केही बढी रहेको छ ।
कैलालीमा सबैभन्दा धेरै मतदाता
प्रदेशका नौ जिल्ला मध्ये कैलाली जिल्लामा मात्रै ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। कैलाली-४ मा सबैभन्दा बढी १ लाख १५ हजार १ सय ४३ मतदाता रहेका छन् भने कैलाली-५ मा १ लाख १० हजार ५ सय ३९ मतदाता छन्। कैलाली जिल्लाले मात्र प्रदेशको ठूलो मतदाता भार बोकेको देखिन्छ।
कैलाली मात्रै पाँच लाख ५० हजार भन्दा बढी मतदाता रहेका छन् । यस्तै कञ्चनपुरमा पनि ३ लाख १३ हजार भन्दा बढी मतदाता रहेको तथ्याङ्क प्राप्त भएको छ। यसरी हेर्दा तराईका दुई जिल्लामा मात्रै बाँकी सात जिल्ला को तुलनामा आधा मतदाता रहेका छन्।
पहाडी र हिमाली जिल्लाको अवस्था
यसैगरी पहाडी जिल्ला अछामका दुवै निर्वाचन क्षेत्रमा १ लाख ६५ हजारभन्दा केही बढी मतदाता रहेका छन भने, डोटीमा १ लाख २८ हजार ३ सय ९९ , डडेल्धुरामा ९३ हजार ४ सय ३, बैतडीमा १ लाख ५६ हजार ३ सय ७२, दार्चुलामा ९२ हजार ९ सय ४८, बझाङमा १ लाख २६ हजार ९०३, र सबैभन्दा कम बाजुरामा ८७ हजार ८ सय ६१ मतदाता रहेका छन् ।
मतदान स्थल र केन्द्र
प्रदेशभर १ हजार १ सय ७६ मतदान स्थल तोकिएका छन् भने ती स्थलमा कुल २ हजार १ सय ९९ मतदान केन्द्र स्थापना गरिने निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन व्यवस्थापनमा तयारी तीव्र
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टका अनुसार मतदाता नामावली अद्यावधिक, मतदान स्थल निर्धारण र सुरक्षासम्बन्धी समन्वय कार्य तीव्र रूपमा अघि बढाइएको छ। “मतदाताले सहज, सुरक्षित र निष्पक्ष रूपमा मतदान गर्न पाउने वातावरण सिर्जना गर्नु हाम्रो मुख्य प्राथमिकता हो,” उनले बताए।
सुदूरपश्चिम प्रदेशमा रहेको भौगोलिक विविधता, मतदाता वितरण र मतदान केन्द्रको अवस्थालाई हेर्दा यो निर्वाचन व्यवस्थापनको दृष्टिले संवेदनशील र चुनौतीपूर्ण भए पनि लोकतन्त्र सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण रहने देखिन्छ।