धनगढी, २५ पुस / धनगढी उपमहानगरपालिका–६ मा रहेको जाली सामुदायिक वनले उपभोक्तालाई समान र व्यवस्थित रूपमा दाउरा वितरण गर्ने उद्देश्यले हाल वन क्षेत्रबाट दाउरा सङ्कलन कार्य गरिरहेको छ। वनलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने लक्ष्यसहित बाङ्गाटिङ्गा तथा काम नलाग्ने काठ र झाडी कटान गरी दाउरा सङ्कलन गरिएको जाली सामुदायिक वनका कार्यालय सचिव धर्मराज कुँवरले जानकारी दिए।
उनका अनुसार उपभोक्ताकै उपस्थितिमा गरिएको यो कार्यले वनमा हुने चोरी-तस्करी र आगलागीको जोखिमसमेत कम गर्न सहयोग पुग्ने छ।
यसअघि उपभोक्ता स्वयंले दाउरा संकलन गर्दा कसैले धेरै लग्ने र कसैले नपाउने जस्ता गुनासो आउने गरेको उल्लेख गर्दै जाली सामुदायिक वनका उपाध्यक्षले अहिले अपनाइएको व्यवस्थित प्रणालीले त्यस्ता समस्या न्यूनिकरण हुने बताए।
यसरी योजनाबद्ध रूपमा झाडी कटान तथा दाउरा सङ्कलन गर्दा वन संरक्षणसँगै वन क्षेत्र थप आकर्षक बन्ने भएकाले सामुदायिक वनका पदाधिकारीहरूको अगुवाइमा झाडी कटान भैरहेको जाली सामुदायिक वनका अध्यक्ष करन चौधरीले बताए।
सामुदायिक वनले आफ्नै सहजता र समान उपभोग सुनिश्चित गर्न यस्तो अभ्यास थालेको भन्दै उपभोक्ताहरूले पनि यसलाई सकारात्मक पहलका रूपमा लिएका छन्।