कैलाली , २४ पुस / कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र गोदावरी नगरपालिका – १ को वडा कार्यालयमा लगाइएको तालाबन्दी अझै खुलेको छैन । स्थानीयले पुस १४ गते डीडीसी अत्तरियाबाट धनगढी सार्न थालिएपछि अवरोध गर्दै डीडीसी र वडा कार्यालयमा तालाबन्दी गरेका थिए । लामो समयदेखि तालाबन्दी हुँदा पनि अझै सम्म ताला खोल्न दोहोरो संवाद समेत हुन सकेको छैन ।
लामो समय देखि डीडीसी अत्तरियाबाट सार्न नहुने भन्दै आन्दोलन गरिरहेका स्थानीले डीडीडीमा जडान भएका उपकरण सार्न थालिएपछि विरोध जनाउँदै तालाबन्दी गरेका थिए । पुस १४ गते स्थानीयले डीडीसीका उपकरण सार्नका लागि ल्याइएका क्रेन र ट्रकलाई समेत फिर्ता पठाएका थिए । त्यसपछि ताला खोल्ने विषयमा छलफल गर्न पुस १८ गते इलाका प्रहरी कार्यालय मालाखेतीले नगरप्रमुख सहितको सर्वपक्षीय छलफल गर्न खोजे पनि नगर प्रमुखले छलफलमा आफ्ना कुरा मात्रै राखेर बाहिरिएपछि छलफल बिना निष्कर्ष टुङ्गिएको थियो ।
त्यसपछि ताला खुलाउने विषयमा छलफल नभएको गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १ का वडाध्यक्ष गोपाल दत्त भट्टले बताए । उनले डीडीसीलाई अत्तरियामा रोक्नका लागि आफूले प्रयास जारी राख्ने बताउँदै ताला खेलिदिन पनि आग्रह गरे ।
‘डीडीसीको सङ्घर्ष समिति, यहाँका स्थानीय बासिन्दालाई मैले अनुरोध गरेको छु’ उनले भने ‘डीडीसी यही रह्यो भने मैले वडाको बजेटबाट ५ लाख दिने मैले बचनबद्ध गरेको छु । वडाको ताला खोलिएपछि म चुप लागेर बस्दैन हाम्रो डीडीसीलाई यहाँ रोक्ने प्रयास जारी रहन्छ ।’ उनले लामो समय देखि तालाबन्दी हुँदा विदेश जाने, नागरिकता बनाउने, बैङ्किङका काम रोकिएकाले सेवाग्राहीलाई समस्या भएको बताए । उनले ताला खोलिदिनका लागि सङ्घर्ष समिति सँग आफूले आग्रह गरेको बताउँदै ताला नखुलेमा अब आफै पनि खोल्नुपर्ने अवस्था आउन सक्ने बताए ।
डीडीसी कार्यालयका प्रमुख निराञ्जन भट्टराइले भने मूल गेटमा तालाबन्दी गरिएको भए पनि दूध सङ्कलनको काम भने जारी रहेको बताए । उनले तालाबन्दी खुलाउने विषयमा कुनै छलफल नभएको बताए ।
हाल डीडीसीले पछाडिको गेट खोलेर दूध सङ्कलन, प्रशोधन बिक्री वितरण गदै आएको छ । डीडीसीको प्रशासनिक कार्यालय भने पुस १२ गते नै धनगढीको कनेरीमा रहेको जडीबुटी प्रशोधन केन्द्रको भवनमा सारिसकिएको छ । पुस १४ गते उद्योगका सामान धनगढी सार्ने क्रममा स्थानीयले अवरोध गरेपछि बाँकी सामान भने अत्तरियामै रहेका छन् ।
डीडीसीले जडीबुटी प्रशोधन केन्द्रमा डीडीसी राख्नका लागि धनगढी उपमहानगरपालिका सँग २५ वर्षका लागि सम्झौता गरिरहेको छ । डीडीसीले अत्तरियामा सानो ठाउँ भएकाले उद्योग विस्तार गर्न र स्वच्छताको मापदण्ड कायम राख्न समस्या भएकाले नयाँ ठाउँको खोजी थालिएको जनाउँदै आएको छ ।
डीडीसीले गत वर्ष पुस महिनामै धनगढी सार्ने प्रक्रिया अघि बढाएपछि स्थानीयले विरोध गर्दै डीडीसीका लागि आवश्यक जग्गा गोदावरीमै उपलब्ध गराउनका लागि कार्यदल गठन गरिएको थियो । गोदावरी नगरपालिका – १ का वडाध्यक्षकै संयोजकत्वमा गठन गरिएको कार्यदललाई डीडीसीका लागि आवश्यक जग्गा उपलब्ध गराउने जिम्मेवारी तोकिएको थियो । नगरपालिकाले भने डीडीसीको माग अनुसार जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनाउँदै आएको छ ।
नगरपालिकाले डीडीसीलाई जग्गा सहित घर बनाउनका लागि २५–३० लाख उपलब्ध गराउने भनेपछि हाल आएर जेनजी आन्दोलनका कारण रकम दिन नसकिने नगरप्रमुख वीरेन्द्र भट्टले बताएपछि डीडीसीले संरचना सहितको जग्गा चाहिएको भन्दै धनगढी सामान सार्न सुरु गरेको जनाएको छ । पुस १८ गतेको छलफलमा पनि नगरप्रमुख भट्टले हाल जग्गा उपलब्ध गराए पनि आगामी आर्थिक वर्षको बजेटमा रकम उपलब्ध गराउने बताएका थिए । त्यसपछि स्थानीय पनि पहिले रकम दिने भन्दै पछि नगरपालिका पन्छिएको भन्दै नगरपालिकाकै विरोध गर्दै आएका छन् ।
