धनगढी , २३ पुस / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशनमा आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाको नेतृत्वमा रहेको टोलीले बुधबार कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाको स्थलगत निरीक्षण गरेको छ।
भारतीय पर्यटक तथा नेपाली नागरिकको आवागमन सहज बनाउन एकीकृत भन्सार जाँच प्रणालीलाई व्यवस्थित गर्ने उद्देश्यले निरीक्षण गरिएको हो। मुख्यमन्त्री शाहले सीमा नाकाको अवस्था, सेवा प्रवाह र सुधारका सम्भावनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको थियो।
आर्थिक मामिला मन्त्री थापाका अनुसार भारत जाने नेपाली श्रमिक र नेपाल भ्रमणमा आउने भारतीय पर्यटकहरूको तथ्याङ्क व्यवस्थित गर्न भन्सार नाकामा सुधार गरिनेछ। अनुगमनपछि मन्त्री थापाले आगमन प्रक्रिया सरल बनाइने, सामान जाँचका लागि आधुनिक स्क्यानिङ मेसिन जडानको तयारी भइरहेको जानकारी दिनुभयो।
यसबाट सीमा क्षेत्रमा हुने अनावश्यक झन्झट कम हुनुका साथै आपराधिक गतिविधि नियन्त्रण र लागू औषध ओसारपसार रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अनुगमन टोलीमा भौतिक पूर्वाधार तथा विकास मन्त्री सुरेन्द्रबहादुर पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीको पनि सहभागिता रहेको थियो।