धनगढी, २२ पुस / २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बलले पुर्व- पश्चिम झण्डा मार्च शुभारम्भ गरेको छ। २० गते कञ्चनपुरबाट सुरु गरेको झण्डा मार्च आज कैलाली जिल्ला सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको कैलाली जिल्लाका सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रञ्जितले बताए।
सशस्त्र प्रहरीले रजत जयन्तीको अवसर पारेर पुर्वको काकडभिट्टा बाट र पश्चिम कञ्चनपुरबाट झण्डा मार्च गरी माघ ७ गते १८ दिनको अवधिमा पर्सा जिल्लामा विशेष कार्यक्रमको आयोजना गरी समापन गरिने प्रहरी उपरीक्षक रञ्जितले बताए।
समुदाय स्तरमा सशस्त्र प्रहरी बलको काम कर्तव्य,सिमा सुरक्षा र शान्ति ब्यबस्था बारे जानकारी गराउदै झण्डा मार्च टोली एक जिल्ला बाट अर्को जिल्लाका सशस्त्र बललाई हस्तान्तरण गरिरहको छ। त्यही बमोजिम आज कञ्चनपुर सशस्त्र प्रहरी बलले कैलाली शसस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको र कैलालीको टोलीले बर्दिया जिल्लाको टोलीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उपरीक्षक रञ्जितले जानकारी दिए।
यस्तै कैलाली कञ्चनपुरको सिमाना रहेको डोजर बजारमा झण्डा मार्च हस्तान्तरण कार्यक्रममा बोल्दै कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले रजत जयन्तीको अवसरमा सशस्त्र प्रहरीलाई वधाई तथा शुभकामना दिदैं भने सिमा सुरक्षा र शान्ति ब्यबस्थामा सशस्त्र प्रहरीको योगदान कसैले पनि बिर्सन नहुने बताए।