चैत दोस्रो साता एकजनाको रिपोर्ट पोजिटिभ आएको खबर सुनेपछि सेती प्रादेशिक अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरू अत्तालिए । स्टाफ नर्सहरू सबैभन्दा बढी तनावमा परे ।
एकातिर घरपरिवार, अर्को जिम्मेवारी– जसोतसो सम्हालिएर अहिले उनीहरु एक साता अस्पताल र दुई साता क्वारेन्टाइनमा बसी पालैपालो काम गरिरहेका छन् ।
धनगढी — ‘म परिवारसँग खाना खाँदै थिएँ । अस्पतालबाट साथीहरूले उनको त पोजिटिभ देखियो भनेर खबर गर्नुभयो, बुवाआमाले बीचैमा खाना छाड्नुभो,’ डा। निराजनदत्त शर्मा पौडेलले भने, ‘म उनै बिरामीको उपचारमा संलग्न रहेको थाहा पाएकाले उहाँहरू अत्तालिनुभयो । खबर सुन्नेबित्तिकै म अस्पताल गएँ ।’
गत चैत १४ गते दिउँसोको समय थियो। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भर्ना गरिएका एकजना बिरामी संक्रमित रहेको खबर आयो। पहिलो केस भएकाले लगभग सबै चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरू अत्तालिए। ‘काठमाडौं प्रयोगशालाका कर्मचारीले सुरुमा डिटेल जानकारी गराएनन् तर एक जना पोजिटिभ केस देखिएको छ, सजग रहनुहोला भन्ने अनौपचारिक खबर गरे,’ मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले भने, ‘अन्य व्यवस्थापनका चुनौती त छँदै थिए, त्योभन्दा पनि त्यसअघि उनलाई जाँच गर्ने क्रममा स्वास्थ्यकर्मीहरूले पीपीईलगायत स्वास्थ्य सुरक्षाका सामग्री नलगाएकाले सबैलाई तनाव भयो। नर्सिङ स्टाफहरू सबैभन्दा बढी स्ट्रेसमा पुगे।’
औपचारिक खबर आइसकेपछि अस्पताल टिमले आफैंलाई सम्हाल्दै अगाडिका योजना बनायो। ‘आइसोलेसन वार्डमा राखिएका बिरामीको समूहबाट संक्रमित देखिएका बिरामीलाई अलग्गै राख्यौं,’ डा। पाण्डेले भने, ‘कामको पहिलो स्टेप नै त्यही थियो।’
सुदूरपश्चिमकै सुविधासम्पन्न सरकारी अस्पताल हो सेती। तर, यहाँ तीन जना मात्र कन्सल्ट्यान्ट फिजिसियन छन्। डा। सन्तोष पाण्डेलाई वार्डको जिम्मा लगाइएको छ। कन्सल्ट्यान्ट फिजिसियनहरू शेरबहादुर कमर, डा। पौडेल र आकस्मिक रोग विशेषज्ञ जगदीश जोशी गरी तीन जना डाक्टरले सुरुदेखि नै कोरोना भाइरस संक्रमणको आशंका भएका र संक्रमण पुष्टि भइसकेका बिरामीको उपचारमा नेतृत्व गरिरहेका छन्।
डा। कमर कोरोना भाइरसका बिरामीको जाँच तथा उपचारमा अग्रपंक्तिमा खटिएका छन्। ‘सुरुदेखि नै यहाँ पनि केस अवश्य देखिन्छ भन्ने लागेको थियो,’ उनले भने, ‘त्यसैले पहिलो केस आउनेबित्तिकै उत्तिसाह्रो झट्का त लागेन तर सीमित मात्र विशेषज्ञ फिजिसियन भएकाले व्यवस्थापनको निकै चुनौती भयो।’ घरपरिवार टाढा भएकाले उनीहरूले चिन्ता गरिरहने उनी बताउँछन्। ‘व्यक्तिगत रूपमा जस्तोसुकै कठिनाइ भए पनि बिरामीको उपचार गर्नु पहिलो कर्तव्य भएकाले जटिल अवस्थासँग भाग्ने कुरै भएन,’ उनले भने, ‘अहिलेसम्म त धानिएकै छ, अगाडि कस्तो परिस्थिति आउने हो।’
बिरामीको स्वास्थ्य उपचारमा अग्रमोर्चामा खटिएका अर्का कन्सल्ट्यान्ट फिजिसियन हुन् डा। पौडेल। ‘आफ्नै घरपरिवारले चिन्ता गर्नु स्वाभाविकै हो तर त्योभन्दा महत्त्वपूर्ण दायित्व यतिबेला बिरामीलाई बचाएर चाँडै घर पठाउन प्रयास गर्नु हो,’ उनले भने, ‘सुरुदेखि आएका बिरामीलाई आत्मविश्वास दिने कुरा नै पहिलो उपचार देखिएको छ।’
हाल सेतीमा पाँच जना कोराना संक्रमितको उपचार भइरहेको छ। दुई महिला र तीन पुरुष। डा। पौडेलको अनुभवमा सबै बिरामी सामान्य अवस्थाका छन्। उनीहरू बिरामीजस्ता छैनन् तर संक्रमण देखिएको खबर सुनेर निकै आत्तिएका थिए। मनोबल निकै खस्किएको थियो। ‘थाहा पाउनेबित्तिकै सबै बिरामीले अब त बाँचिन्नँ कि क्या हो भन्छन्, उनीहरूलाई आत्मबल दिएर शान्त पार्नुपर्छ। केही बिरामीको त आत्मबल अति कमजोर थियो। अहिले ठिकै छ।
कोरोनाका बिरामीको जाँच तथा उपचारमा खटिने अर्का डाक्टर हुन्– आकस्मिक रोग विशेषज्ञ जोशी। ‘म डाक्टर मात्रै नभई श्रीमान्, बाबु, छोरा, भाइ पनि हुँ,’ डा। जोशीले भने, ‘यतै नजिकै रहेको घरमा पनि जान नमिलेर दुई सातादेखि होटलमा बसेको छु। घरपरिवारले चिन्ता गरिरहन्छन्। उनीहरूलाई सम्झाउनु परिरहेको छ। चुनौती मोलेर भए पनि जटिल अवस्थामा बिरामीको सेवा गर्न पाएकोमा मलाई दिक्कचाहिँ लागेको छैन।’
विशेषज्ञ चिकित्सकको नेतृत्व तीन जनाको भए पनि उनीहरूलाई सेतीकै अन्य १४ जना मेडिकल अधिकृतहरूले सघाइरहेका छन्। सेतीमै कार्यरत ३१ जना नर्सिङ स्टाफको समूह खटिएको छ। प्यारामेडिक्सतर्फका ९ जनाको समूह बेग्लै परिचालित छ। अस्पतालका प्रवक्ता डा। जोशीका अनुसार कोरोना भाइरसविरुद्धको लडाइँमा सरसफाइ, व्यवस्थापनसमेत गरी ७४ जनाको टिम खटिएको छ। ल्याब परीक्षणमा बेग्लै समूह छ।
विशेषज्ञ डाक्टरहरूपछि सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी नर्सिङ स्टाफहरूले निर्वाह गरिरहेका छन्। नर्सिङ इन्चार्ज सीमा शर्माले अन्य नर्सहरूको खटनपटनलाई संयोजन गरिरहेकी छन्। ‘बिहानसम्म ती बिरामीको नजिकैबाट केयर गरिरहेको थिएँ। पछि त उनैलाई पोजिटिभ भएको खबर सुनेर छानाबाट खसेझैं भएँ,’ सीमाले भनिन्, ‘खुबै डर लाग्यो। छोरी र घरपरिवारको याद आयो। सबै स्टाफ त्यत्तिकै डरायौं तर आफैं त्यसरी असन्तुलित हुँदा अरूको मनोबल झन् गिर्ने भएपछि सम्हालिएर अरूलाई पनि सम्झाएँ। अलग्गै वार्डको बन्दोबस्त गर्नेदेखि लिएर आवश्यक कामको चाँजोपाँजो मिलायौं।’
चिकित्सकहरूसमेत अलमलमा परेको अवस्थामा स्टाफ नर्सहरू सुरुमा निकै विचलित भए। सुरुको भन्दा मनोबल बढेको भए पनि त्रास नहटेको उनीहरू बताउँछन्। अस्पतालले खोलेको स्टाफ नर्सको परीक्षामा उत्तीर्ण भएकाहरू २३ जनामध्ये चार जनाले मात्रै नियुक्ति लिएको नर्सिङ इन्चार्ज शर्माले बताइन्। ‘अघिपछि जागिरको कस्तो हानाथाप हुन्थ्यो,’ उनले भनिन्, ‘यतिबेला नाम निकालेर पनि नियुक्ति लिन आएनन्।’
सेतीलाई कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गर्ने ‘डेडिकेटेड अस्पताल’ तोकिएको छ। सुदूरपश्चिमका अन्य क्षेत्रबाट पनि यही अस्पतालमा बिरामी ल्याउने गरिएको छ। हाल कञ्चानपुरका एक जना, कैलालीको लम्कीचुहा नगरपालिकाका दुई जना र धनगढीका दुई जनाको उपचार यहाँ भइरहेको छ।
अस्पतालले जाँच तथा उपचारमा संलग्न विशेषज्ञसहित स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई आलोपालो काममा लगाएको छ। एक सातासम्म एउटा समूहको ड्युटी हुन्छ। त्यसपछि उक्त समूहमा खटिएका स्वास्थ्यकर्मीहरू १४ दिनको सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम छ। ‘मेरो १४ दिन पुग्नै लाग्यो,’ डा। निराजनले भने, ‘हामी खटिएपछि यसअघिका साथीहरू क्वारेन्टाइनमा जानुहुन्छ।’ एक्लै भएका डाक्टरहरू इच्छाअनुसार क्वार्टरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरेका छन्। परिवार भएका डाक्टर र नर्सहरूका लागि भने धनगढीका दुईवटा होटलमा बस्ने व्यवस्था गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डा। पाण्डेले बताए।
धनगढीमा देखिएका पहिलो बिरामीले अस्पताल र डाक्टरहरूबाट कुनै वास्ता नभएको चर्को गुनासो गरेका थिए। अहिले बिरामीहरूको गुनासो सुनिएको छैन। ‘हरेक दिन बिहान बिरामीसँग सोधपुछ गर्छौं। कुनै जटिलता भए त्यसैअनुसारको उपचार सुरु गर्नुपर्ने हुन्छ,’ डा। निराजन भन्छन्, ‘तर यहाँ भर्ना भएका सबै बिरामीको अवस्था सामान्य छ।’
बिरामीका लागि बेग्लाबेग्लै शौचालय, आवश्यक व्यक्तिगत समानहरू, वाइफाईलगायत सुविधाहरू व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ। ‘पहिलाको भन्दा अहिले राम्रो व्यवस्था छ,’ उपचाररत एक बिरामीले भने, ‘समस्या केही महसुस भएको छैन। चाँडै घर फर्किन पाइएला भन्ने विश्वास छ।’
सुदूरपश्चिममा संक्रमितको संख्या बढ्दै गएको र अझै बढ्न सक्ने सम्भावना देखिएको चिकित्सकहरू औंल्याउँछन्। यस अवस्थामा सेती प्रादेशिक अस्पतालका लगभग सबै स्वास्थ्यकर्मीले कोरोना उपचार केन्द्र अलग्गै र टाढा हुनुपर्ने माग गरेका छन्। ‘सेतीको हाताभित्रै कोरोना भाइरसबाट संक्रमित बिरामी राख्दा अन्य बिरामीलाई पनि अत्यधिक जोखिम भयो,’ डा। कमर भन्छन्, ‘सेतीकै मातहतमा भए पनि बेग्लै ठाउँ र उपचार गर्ने टिम पनि बेग्लै भए सुरक्षित हुन्थ्यो।’
हाल सेतीमा पाँच जना संक्रमित बिरामीको आइसोलेसनमा उपचार भइरहेको छ। प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा ५०र५० शय्याको कोरोना अस्पताल ९उपचार केन्द्र० निर्माण गर्न एकरएक करोड विनियोजन गरेको भए पनि निर्माण काम सुरु भएको छैन।
साभार : कान्तिपुर बाट