कैलाली र कञ्चनपुर धमाधम जनामा कोरोनाभाइरस (कोभिड– १९) को र्यापिड टेस्ट गर्न थालिएको छ। यसअघि दुई जिल्लाबाट संकलन गरिएका थ्रोट स्वाव र रगतको नमूनालाई र्यापिड डाइग्नोस्टिक टेस्ट र पिसिआर मेसिन मार्फत परीक्षण गरी विश्वसनीयता मापनपछि मात्रै र्यापिड टेस्टलाई अगाडि बढाउने भनिएको थियो। तर विश्वसनीयता मापन नगरी र्यापिड टेस्टले तिव्रता पाएको हो।
बिहीवार मात्रै कैलालीमा सुरक्षाकर्मी र प्रशासनिक निकायका कर्मचारी गरी दुई सय २० जनाको र्यापिड टेस्ट गरिएको छ भने कञ्चनपुर जिल्लामा एक सय २१ जनाको परीक्षण गरिएको छ। कैलालीमा नेपाल प्रहरी सय कर्मचारी, सशस्त्र प्रहरीका एक सय १५ र अन्य पाँच जना गरी दुई सय २० जनाको परीक्षण गरीएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
भारत र तेस्रो मुलुकबाट आएर कञ्चनपुरका विभिन्न सात क्वारेन्टाइनमा बसेका एक सय २१ ज्नाको पनि र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ। चिकित्सकहरुका अनुसार विश्वव्यापी रूपमा कोभिड १९ को परीक्षण दुई प्रकारले गरिन्छ।
पहिलो पीसीआर (पोलिमरेज चेन रियाक्सन) र दोस्रो र्यापिड एन्टीबडी टेस्ट। कतिपय चिकित्सकहरुले र्यापिड टेस्ट धेरै विश्वसनीय नभएको पनि बताएका छन्। सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले भने, ‘पीसीआर परीक्षणमा भाइरस भए नभएको जानकारी प्राप्त हुन्छ। ¥यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण हुने भएकाले यो परीक्षण प्रविधि पीसीआरभन्दा अलि कम विश्वसनीय हुन्छ। र्यापिड टेष्टमा पोजेटिभ देखाएपनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नै पर्नेहुन्छ।’
उनका अनुसार टेस्ट किटको गुणस्तरले पनि धेरै फरक पार्ने गरेको छ। माईक्रोबायोलोजिस्ट सुनिल लेखकका अनुसार पीसीआर टेस्टमा नाक वा घाँटीबाट लिइने स्वाब परीक्षण गरिन्छ भने आरडीटीमा रगतको नमूना परीक्षण गरिन्छ। र्यापिड टेस्टले शरीरको प्रतिरोधात्मक पक्षलाई देखाउने उनले बताए।