“नेता होइन, सिद्धान्तप्रति आस्था राखौँ : समग्र विकासको मार्ग”
नेपालको समग्र विकासका लागि अब नेतृत्व परिवर्तन हुनु आवश्यक छ र अपरिहार्य छ भन्ने कुरा हामीले बुझेका छौँ। यसको अर्थ यो होइन कि सृजनशील सोच भएका, सधैं आफ्ना कार्यप्रति निष्ठावान रहने, आफ्ना लागि नभई देशका लागि केही गर्न चाहने, सामाजिक कार्यमा अग्रपंक्तिमा रहने र जनताले रुचाउने व्यक्तिहरूलाई यो त अमुक पार्टीको हो, त्यो त अर्कै पार्टीको हो भनेर आलोचना गर्नुपर्छ भन्ने हो। पार्टीको ट्याग लगाउन अनिवार्य पनि छैन।
कुनै पनि क्षेत्रमा—चाहे राजनीतिक होस् वा अन्य पेशागत—एकजनाले नेतृत्व गर्नैपर्छ। राजनीति गर्ने सन्दर्भमा कुरा गर्दा, यदि सबै जना स्वतन्त्र उम्मेदवार बन्न थाले भने, उनीहरू जितेपछि तिनलाई नियन्त्रण कसले गर्ने? जस्तै सडकमा छोडिएका चौपाया नत केही डराउँछन् नत कसैको नियन्त्रणमा हुन्छन्, त्यस्तै स्वतन्त्र उम्मेदवारहरू पनि कसैको अधीनमा नपरी मनपरी ढंगले काम गर्ने सम्भावना रहन्छ।
तर, कुनै पनि राजनीतिक दलमा आबद्ध व्यक्तिहरू भने आफ्नो दलको नीति–सिद्धान्त र शिष्टाचारको कारणले सदैव अनुशासनमा रहन्छन्। उनीहरूलाई आफ्नो दलप्रति उत्तरदायी हुनुको साथै जनता र राज्यप्रति पनि प्रतिबद्ध हुनुपर्ने हुन्छ।
कसैलाई एक सिद्धान्त प्रिय लाग्न सक्छ, कसैलाई अर्को। कसैलाई एउटा नेता मन पर्न सक्छ, कसैलाई अर्काे—यो स्वाभाविक कुरा हो। तर, मलाई मन पर्ने कुरा अरुलाई पनि मन पर्छ भन्ने हुँदैन भन्ने यथार्थ स्वीकार गर्नुपर्छ।
अन्त्यमा, यदि हामीलाई साँच्चिकै परिवर्तन चाहिएको हो भने, हामी नेता–मुखी नभई सिद्धान्त–मुखी बन्नुपर्छ। यसरी मात्र लोकतन्त्रको मर्म जोगिन्छ र समग्र विकासमा पनि महत्वपूर्ण योगदान पुग्छ।
लेखक : आकाश भट्ट ( कैलाली बहुमुखी क्याम्पस कानुन संकायमा अध्ययनरत विद्यार्थी , कैलाली बहुमुखी क्याम्पस स्ववियु सदस्य)
