धनगढी, २६ चैत- नेकपाका नेता तथा बाजुरा अस्पतालका अध्यक्ष भरत थापाले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल प्रकाश भट्टलाई धम्क्याउनुका साथै अपशब्द प्रयोग गरी गाली गरेका गरेका छन् ।
नेकपा नेता थापाले बाजुरा जिल्लामा कम्युनिष्टले जे चाह्यो त्यही हुने बताउदै कोलेनिकाका लेखापाललाई भेटेर दुई थप्पड हान्ने धम्की दिएका छन् । यो बाजुरा जिल्ला हो, यहाँ कम्युनिष्ट पार्टीले जे भन्यो त्यही हुन्छ, अस्पतालका अध्यक्ष थापाले भट्टलाई धम्क्याउदै भनेका छन्, यहाँ बस्ने मन छ कि छैन ।
उनी त्यतिमै रोकिएनन, उनले भट्ट्लाई सोधे, तपाइ कहाँ हुनुहुन्छ , भेटेर दुई चडकन हान्नु पर्ने भयो ? त्यस्तो मैले के गरे हजुर ? भट्टले प्रश्न गर्दा थापाले तपाईले अफिसियल गोप्य प्रमाणहरु बाहिर ल्याएको प्रमाण मसंग छन् । उनले एउटा सामाजिक अगुवा र नेताले बोल्नै नहुने मर्या्दित शब्दहरु समेत प्रयोग गरेको अडियो सुदूरपत्र अनलाइनलाई प्राप्त भएको छ ।
यस विषयमा अस्पताल विकास समितिका अध्यक्ष थापासंग राखेको जिज्ञासामा उनले भट्टलाई धम्क्याएको स्वीकार गरे ।मैले अहिले सम्झाएको मात्र हूँ, थापाले भने, मानेनन भने कारबाही गर्छु । उनले भट्टले गोप्य सरकारी प्रमाणहरु बाहिर ल्याएको बताए ।
म सामाजिक र राजनैतिक मान्छे हू, समाजमा कसैले बदमासी गरे भन्ने सहन,उनले भने, भनेको मानेन भने त्यस्ता व्यक्तिलाई म आफै तह लगाउछु । यद्दपि भट्टले भने आफूबाट कुनै कमजोरी वा गल्ती नभएको बताएका छन् ।