“अब विकल्पको बाटो खोज्नुपर्छ”
नेपालका लाखौं छोराहरूको जीवन एउटा साझा पीडाको कथाजस्तै बन्दै गएको छ। न सपनाको देशमा, न घरको आँगनमा, उनीहरूको जिन्दगी कतै बीचमै अल्झिएको छ। ती छोराहरू बिहान–बेलुकी पसिना बगाउँछन्, इँटा बोक्छन्, माटो खन्छन्, तर मुटु भने चुपचाप रित्तिँदै जान्छ। उनीहरू भन्छन्। “हामी त श्रम बेचेर जिन्दगी किन्नेहरू हौँ।
“जसरी भारतीय श्रमिक र चिनियाँ निर्माण मजदुरहरू औद्योगिक परिवर्तनका आधार बने, त्यसरी नै नेपाली श्रमिकहरू पनि संसारभर ‘गुमनाम विकासदूत’ बनेका छन्। लेखक अर्जुन मैनालीले लेखेका छन्, “परदेशी नेपालीहरू विदेशको भवन बनाउँछन्, तर आफ्नै सपना खण्डहरमा बाँच्छ।”शरीर टाढा भए पनि मुटु आफ्नै माटोमा अल्झिएको हुन्छ । त्यो हो एक नेपाली परदेशीको स्थायी पीडा। बिहान बेलुकी पसिना बगाएर दिन ढलाउँछ, तर रात परेपछि टाढिएको आमाको आवाज सम्झेर चुपचाप भित्तामा टाँसिएको पुरानो तस्वीर हेर्छ। मोबाइलको स्क्रीनभित्र छोराछोरी मुस्काउँछन्, तर यथार्थमा त्यो मुस्कान एकादेशको देश बनिसकेको छ।
कतारको मरुभूमि, मलेसियाको उद्योग, कोरियाको कारखाना जहाँ नेपाली छ, त्यहाँ पसिना छ। जहाँ पसिना छ, त्यहीँ छ सपना -फरक यत्रा, एउटै नियति : श्रम बेचेर जिन्दगी किन्ने।
परदेशको पीडा : आँसुको कारोबार
हालैको अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को रिपोर्ट अनुसार, नेपालबाट विदेश जाने श्रमिकको संख्या वार्षिक औसत ४ लाख नाघिसकेको छ। सन् २०२३/२४ मा मात्रै लगभग ६ लाख नेपाली युवा वैदेशिक रोजगारमा गएका थिए, जसमा पुरुषहरूको संख्या ८० प्रतिशतभन्दा बढी रहेको थियो। यिनीहरूमध्ये अधिकांश खाडी मुलुक, मलेसिया, र दक्षिण कोरियामा शारीरिक श्रममा कार्यरत छन्।तीनले नेपाल फर्काउँछन् वार्षिक १२ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स जुन देशको कुल गार्हस्थ्य उत्पादन (GDP) को झण्डै २३% हिस्सा हो। तर विडम्बना! यो रेमिट्यान्स कमाउने कातिपय हात कहिलेकाहीँ बाकसमा फर्किन्। “नेपालको विदेश नीति भन्दा पनि नेपाली श्रमिकको पसिना बढी प्रभावकारी छ।” यसले देखाउँछ, राज्यले परदेशिएका जनशक्तिको रक्षा भन्दा पनि ‘आर्थिक आँकडा’ मात्र देखिरहेको छ।
श्रम मन्त्रालयको तथ्याङ्क अनुसार, २० वर्षभित्र झन्डै ५० लाख नेपालीहरू विदेशिएका छन्। तर पछाडि छोडिएको छ । अनियन्त्रित म्यानपावर नेताहरूका आसेपासे ठगी गर्ने गुण्डा, पासपोर्ट एजेन्टको लुट, मेडिकल सर्टिफिकेटको झूठ, र मृत श्रमिकको शवसम्म ल्याउन राज्य मौन त्यहीसम्म पनि राजनीति गरिन्छ। बाँकी रहन्छ विदेशिएका श्रमिकका परिवारका आँशु र “हाम्रो छोरा कतै कतै छैन” भन्ने दुःखद भाकाहरू राजनीति भने रेमिटेन्स बढ्यो भनेर गर्व गर्छ, तर कसरी बढ्यो भनेर कहिल्यै सोध्दैन।
परिवार र भावना : टाढाको आँसु
परदेशिएको बुबा टाढाबाट आफ्ना छोराछोरीको स्कूल फि तिर्छ, तर बालबालिकाले भन्छन् — “बुबा किन यति टाढा छन्?” घरमा श्रीमतीको हाँसोमा पनि सुनसान छ, सास–ससुराले छोरा नजिकै नहुनुको पीडालाई झन झन छातीमा च्यापेका छन्। नातिकहाँ पुग्ने बेलासम्म, त्यो बुबाको अनुहार मोबाइलको पर्दामै सीमित रहन्छ।मानवविज्ञ मार्था नुस्बाम भन्छिन्, “घरको भावना भनेको केवल भौतिक संरचना होइन, सँगै भएको स्पर्श, सँगै रोएको क्षण हो।” नेपाली समाजको संरचना आज त्यही भावनात्मक रिक्तताले झेलिरहेको छ। हजारौं बालबालिकाले बाबालाई केवल मोबाइलको स्क्रिनमा देख्छन्। हजारौं श्रीमतीले श्रीमानको साटो रेमिटेन्सको एसएमएस पढ्छन्।
टुक्रिएको परिवारले देशलाई जोड्न सक्दैन। गाउँमा अब ‘कृषक’ भन्दा ‘परदेशी पत्नी’ धेरै भेटिन्छन्। घरमा बुढा–बुढी छन्, खेत बाँझो छ, र मन उजाड। यो खालीपनले समाजलाई समयमै कमजोर बनाउँदै लगेको छ। म भन्छु – “जब घर छुट्छ, राष्ट्रको आत्मा पनि टुक्रन्छ।”
युवालाई विस्थापन बनाउने चक्र
पर्याप्त रोजगारीका स्रोत हुँदाहुँदै नेपालमा रोजगारीको अवसरको चरम अभाव छ। श्रम विभागका अनुसार, प्रत्येक वर्ष करिब ५ लाख नयाँ युवा श्रम बजारमा प्रवेश गर्छन्, तर देशभित्र मात्र ५०–६० हजारलाई रोजगारी दिन सकिने अवस्थामात्र छ। बाँकी सबै “विकासको सपना” बोकेर देश छोड्न बाध्य छन्। यहाँ रोजगारी सिर्जना गर्ने नीति ल्याइएका छन्, तर कार्यान्वयनमा सरकार पूर्ण असफल देखिन्छ।
नलेन्द्रराज शर्माले भनेका थिए, “राज्यले जब आफ्ना नागरिकलाई रोजगारी दिन सक्दैन, त्यो राज्यले आफ्नै भविष्य भाडामा लगिसकेको हुन्छ।”यही कारण हो, नेपाल आज युवाहरूको लाशमा रेमिट्यान्सको महल ठड्याउँदै छ।
बहुदलीय व्यवस्था आइसकेपछि ‘रोजगारी सिर्जना’ हरेक पार्टीको चुनावी घोषणापत्रमा देखियो, तर व्यवहारमा त्यही घोषणापत्र देश बाहिर पठाउने कागज बन्यो।
९० को दशकदेखि नै ‘वैदेशिक रोजगार’लाई ‘विकल्प’ होइन ‘उपेक्षाको चोला’ बनाएर हेरियो।
संघीयता लागू भएपछि स्थानीय तहलाई रोजगार सिर्जना गर्ने थलो बनाउन सकिन्थ्यो, तर छोटे राजाहरूको दादागिरी गर्ने शासन अखडा बन्यो ।नेपालको राजनीतिक शक्तिहरूले वैदेशिक रोजगारलाई एउटा “प्राकृतिक विसर्जन” को रूपमा स्वीकार गरिरहे, जुन विकासको नाममा श्रमिकको विस्थापन थियो ।
बाध्यता होइन, विकल्प बनोस् परदेश
देशभित्रै बसेर श्रम गर्न पाउने व्यवस्था हुनुपर्छ। एउटा चेतनशील समाज निर्माण गर्नु नै दीर्घकालीन समाधान हो। हामी युवाहरूको यो आवाज हो: “विदेश जानु परोस्, तर त्यो बाध्यता होइन, स्वेच्छाको विकल्प होस्।”। महात्मा गान्धीले भनेका थिए, “साँचो स्वतन्त्रता भनेको आत्मनिर्भरता हो – चाहे त्यो व्यक्ति होस् वा राष्ट्र।” यदिप नेपाली युवाले स्वदेशमा श्रम गरिरहन सकेन भने, त्यो राष्ट्रको आत्मा बाँच्न सक्दैन।कृषि, पर्यटन, लघु उद्योग र नवप्रवर्तन (innovation) लाई प्रोत्साहन नगरी राष्ट्रलाई समृद्ध बनाउने सपना केवल भाषणमै सीमित हुनेछ। “देश त युवाको पसिनाले चल्दैछ।”तर प्रश्न हो ?त्यो पसिनाको बदलामा युवालाई के फर्काइयो?
चेतनाको आवाज : अब म चुप बस्दिनँ
हो, म एउटा चेतनाको अभियान बोकेको अभियन्ता हुँ।
मेरो सपना स्पष्ट छ —नेपालीहरूले आफ्नै देशमा काम, सम्मान र जीवन पाउने व्यवस्था होस्।म बुझ्दछु —
मेरो आवाजलाई यो देशले बुझ्न १०–१५वर्ष लाग्न सक्छ।
तर म बोलिरहनेछु। किनभने म चुप लागेँ भने,
अरू लाखौँ नेपाली छोराहरूको पीडा सधैं मौन रहनेछ।
नेल्सन मण्डेलाले भनेका थिए, “यदि तपाईं न्यायको पक्षमा बोल्न डराउनुहुन्छ भने, तपाईं अन्यायको मौन साझेदार बन्नुहुन्छ।”म पनि बोलिरहन्छु — म लेखिरहन्छु — किनभने यो पीडा, केवल व्यक्तिगत होइन, एक राष्ट्रिय चेतनाको पुकार हो।
अबको नयाँ बाटो के?
आजको यथार्थ बदल्न अब देशले वैदेशिक रोजगारीलाई बाध्यता होइन, विकल्पका रूपमा पुनःपरिभाषित गर्न जरुरी छ। यसको लागि श्रमिक केन्द्रित श्रम नीति निर्माण, पारदर्शी म्यानपावर प्रणाली, सुरक्षित गन्तव्यका लागि अन्तर्राष्ट्रिय सहकार्य, र मृतक वा पीडित श्रमिकका लागि सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाइनु आवश्यक छ। राज्यले स्वदेशमै रोजगारी सिर्जना गर्न उत्पादनमुखी अर्थतन्त्रको जग बसाल्नुपर्छ।जसमा कृषि, पर्यटन, लघु उद्योग, डिजिटल रोजगारी, नवप्रवर्तन र फ्रीलान्सिङ क्षेत्र प्रमुख आधार बन्न सक्छन्। प्रत्येक पालिकामा “रोजगारी बोर्ड” गठन गरी स्थानीय स्रोत, सीप र जनशक्तिलाई जोडेर स्वरोजगार प्रवर्द्धन गरिनुपर्छ। विदेश फर्केका युवालाई ‘फेल भइ फर्किएका’ हैन, ‘अनुभवी नागरिक’ का रूपमा समेट्ने दृष्टिकोण विकास गर्नुपर्छ। साथै, सामाजिक चेतना अभिवृद्धि गर्दै, श्रम र परदेशी पीडालाई अपमान होइन, सम्मानको दृष्टिले हेर्ने संस्कार बसाल्नुपर्छ। शिक्षा, सञ्चार र नेतृत्व सबैले मिलेर “विदेश जानु परोस्, तर बाध्यता होइन, आत्मनिर्भरताको विकल्प होस्” भन्ने सोच विकास गर्नुपर्छ। नेतृत्वले युवाको पसिनालाई रेमिटेन्सको डाटामा सीमित नराखी,उनीहरूको भविष्य गढ्ने दायित्व स्वीकार गर्नुपर्ने छ।त्यही बाटो हो। सुरक्षित, समावेशी र आत्मनिर्भर नेपालको।
पीडाबाट परिवर्तनतर्फ
एउटा नेपाली छोराको पीडा अब केवल आँसु र बाकसमा सीमित रहन दिनु हुँदैन। राज्यले नीति, नागरिकले चेतना, र नेतृत्वले दृष्टिकोण बदल्न जरुरी छ। राष्ट्रिय पुनर्निर्माण युवाको स्वदेशमै उपयोगबाट सुरु हुनुपर्छ।र, तपाईं र म — हामी सबैले त्यो चेतनाको बीउ रोप्नुपर्छ।जब एक युवा परदेशिन्छ, केवल ऊ नभई एक पुस्ता नै विस्थापित हुन्छ।
अब आवश्यक छ, राष्ट्र, समाज, र स्वयं परदेशिएका युवाहरू मिलेर परिवर्तनको अभियान सुरु गर्नु। यो केवल सरकारको काम होइन। यो पुस्तागत चेतना निर्माणको अभियान हो।
✍️ विशाल भट्ट, बैतडी (सुर्नया)
(समाज, श्रम, र न्यायका सवालमा कलम र कदम एकसाथ चलाउँदै गरेका एक युवा)
