धनगढी, १३ असार / नेपालमा बर्खा सुरु हुनु अर्थात् प्राकृतिक प्रकोपको कहर सुरु हुनु पनि हो। सदाझैँ यस वर्ष पनि बर्खासँगै बाढी, पहिरो, चट्याङ, डुबान जस्ता घटनाले अकालमा नागरिकको ज्यान लिने क्रम बढेको छ। जलवायु परिवर्तनको असर र राज्यको तयारीको कमजोरीले गर्दा हरेक वर्षको बर्खा मौसम नेपालीका लागि दु:ख, भयको पर्याय बन्न पुगेको छ।
नेपालको भौगोलिक बनावट यस्तो छ, जहाँ बर्खा लागेपछि पहाडी र हिमाली क्षेत्र बढी संवेदनशील हुन्छन्। लगातारको वर्षाले जमिन खुकुलो बनाएर ठूला पहिरो गराउँछ भने तराई क्षेत्रमा खोलाको सतह बढेर डुबान र बाढी निम्तिन्छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा जेठको अन्तिम हप्तादेखि असोज सम्म बर्खाको मौसम रहन्छ। यही अवधिमा देशभर सर्वाधिक जनधनको क्षति हुने गर्छ।
‘जबसम्म पूर्व सतर्कता अपनाउन सक्दैनौँ, तबसम्म प्राकृतिक प्रकोपको हामी शिकार भैरहन्छौँ’…
सन् २०८२ को बर्खा मौसमको सुरुवातसँगै देशका विभिन्न ठाउँमा बाढी र पहिरोका घटना सुनिन् थालेका छन्। ग्रामीण क्षेत्रमा खुला ठाउँमा काम गर्दा वा सुरक्षित स्थानमा नबसी चट्याङको सिकार हुने घटनाहरू हरेक वर्ष दोहोरि रहेकै छन्।
नेपालको विपद् व्यवस्थापन प्रणाली अझै पनि ‘दुर्घटना भएपछि बचाउ कार्य’ केन्द्रित छ। बर्खा सुरु हुनुभन्दा पहिले नै जोखिममा रहेका क्षेत्रहरूलाई चिनेर पुर्वतयारी गर्नुपर्नेमा त्यो अहिलेसम्मको कमजोर कडी हो। चेतनामूलक कार्यक्रम, सुरक्षित बसोबास, पहिरो प्रभावित क्षेत्रका पुनः स्थानान्तरण, स्थानीय पूर्वसूचना प्रणालीको विकास जस्ता कामहरू प्राथमिकतामा पर्नु जरुरी देखिन्छ।
बर्खा मात्र पानीको आगमन होइन, यहि पानी जीवन दिने स्रोत पनि हो। तर, तयारी नहुदा यही पानी अभिशाप बन्छ। स्थानीय तहदेखि संघीय सरकारसम्मको समन्वयात्मक र दीर्घकालीन योजना बिना हरेक वर्ष यस्तै दुःखद खबर सुन्नुपर्छ।
अब समय आइसकेको छ, जहाँ हामीले बर्खालाई केवल ‘प्रकोपको मौसम’ भनेर होइन, व्यवस्थापनको चुनौतीका रूपमा बुझ्नुपर्छ। चेतना, प्रविधि र पूर्वतयारीको समुचित संयोजनबाट मात्र हामी बर्खालाई ‘नियन्त्रणमा लिन सकिने प्राकृतिक शक्ति’ बनाउँछौं।
नत्र भने, बर्खासँगै हरेक वर्ष नेपालीको आँशु बगिरहनेछन् । पहिरोले घर पुरिरहनेछ, बाढीले बस्ती डुबाइरहनेछ, र चट्याङले निर्दोष ज्यान लिइरहनेछ।
बर्खाको पानी अमृत हो कि अभिशाप त्यसको उत्तर अब हाम्रो तयारीले दिनेछ।