धनगढी, ५ असार । धान रोपाइँको मुख्य सिजन चलिरहँदा कैलालीका किसानहरू नियमित विद्युत् अवरोधका कारण चिन्तित छन्। बत्ती गइरहने समस्याले मोटर चल्न सकेको छैन, पानी तान्न गाह्रो भइरहेको छ, जसले गर्दा किसानहरूलाई समयमा रोपाइँ गर्न मुस्किल परेको छ ।
विशेषगरी विद्युतीय मोटरले सिँचाइ गर्दै आएका किसानहरू अहिले डिजेल हालेर पम्प चलाउन बाध्य छन्। नवदुर्गा कृषक समूहका अध्यक्ष धीरज विश्वकर्मा भन्छन्, ‘बिजुली भए पनि पावर पुग्दैन, मोटर चल्दैन। सिचाईमा समस्या भईरहेको छ । समयमा धान नरोप्दा बिउ छिप्पिन्छ।’
सिंचाइका लागि ट्युबवेल, बोरिङ र मोटरको प्रयोग गर्ने किसानहरू बत्तीको पावर नपुग्दा दिनको समयमा पनि खेत सुक्खा राख्न बाध्य छन्। रोपाईको समयमा बिजुलीको पावर नपुगेर बोरिङ र मोटर नचल्ने र बेला बेला बत्ती गईरहने कारणले किसानलाई सिचाईमा समस्या भएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक बहादुर बिष्टले बताए । उनले भने ‘बिजुलीको पावर नपुगेर बोरिङ र मोटर नचल्ने समस्या छ। विकल्पमा डिजेल प्रयोग गर्नुपर्दा लागत बढेको छ, किसान थप मर्कामा परेका छन्।’
धेरैजसो उपभोक्ताले एकै समयमा मोटर चलाउँदा पावर लोड धेरै भएर ट्रान्सफर्मरमा दबाब पर्ने र लाइन काट्नुपर्ने बाध्यता रहेको धनगढी विद्युत् वितरण केन्द्रका प्रमुख मिथिलेश कुमार गोहीभाटले बताए । ‘गर्मीको बेला सबैले मोटर चलाउँछ, यसले ट्रान्सफर्मरले थेग्न सक्दैन। नयाँ ट्रान्सफर्मर राख्नको लागि पनि लाइन काट्नैपर्छ,’उनले भने।