लवदेव धामी, विचार
आज गणतन्त्र दिवस जेठ, १५ / कति धेरै शासन व्यवस्थालाई परिवर्तन गर्दै हामीले ल्याएको गणतन्त्रको जन्मदिन अर्थात् गणतन्त्र दिवस हो । हजारौं सपना आकांक्षा र चाहना बोकेर ल्याएको गणतन्त्रले आज नेपाली जनताको ती आशा, भरोसालाई निराशामा परिणत गरेपछि अझै गणतन्त्रको विकल्पको खोजीमा जनता लागिसकेका छन्। सायद गणतन्त्रले त्यो इच्छा चाहना पुरा गर्न सकेन। जुन इच्छा चाहनाले राणाशासन, पञ्चायत शासन लगायतका शासन व्यवस्थालाई परिवर्तन गर्दै १० वर्षको महासंग्राम पछि को प्राप्ति गणतन्त्र हो ।
म आज गणतन्त्र दिवसकै अवसरमा न गणतन्त्रवादी भएर लेख्दैछु न अन्य कुनै तन्त्रबादी भएर मैले देखेको गणतन्त्र र चाहेको गणतन्त्र बारे आफ्नो विश्लेषण गर्ने सानो प्रयास मात्रै गरेको छु।
हरेक शासन व्यवस्था परिवर्तन हुनुमा तत्कालीन परिस्थिति, आवश्यकता र जनआकांक्षा महत्वपूर्ण हुन्छ। १०४ वर्षसम्म राणाशासन सञ्चालन गरेका राणाहरूले जसरी २००७ सालमा जनताको लामो क्रान्ति र त्यागपछि शासन व्यवस्था परिवर्तन गर्न लाग्नुपर्यो। सायद त्यतिबेलाको माग पनि राणा शासनको अन्त्य थियो र प्रजातन्त्रको स्थापना थियो। प्रजातन्त्र स्थापना गर्न हजारौँले आफ्नो ज्यानको बाजी थाप्नुपर्यो र सहिद बने । फलस्वरूप प्रजातन्त्र स्थापना गर्न सफल भयौं।
नयाँ शासन व्यवस्था त्यति सजिलै स्थापित हुने कुरा पनि त थिएन। जब प्रजातन्त्रले आफ्नो जरा गाड्दै थियो। तब प्रजातन्त्रवादीहरूमा पनि प्रजातन्त्रको अहमता बढेपछि तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रलाई फेरि एकपटकको लागि पिजडा भित्र कैद गर्नुपर्ने आवश्यकता देखेपछि पञ्चायत शासन व्यवस्था सुरु गरे। जबकि पञ्चायत व्यवस्था सुरु हुन पनि हाम्रै पुर्खाको योगदान मान्न सकिन्छ तत्कालीन नेतृत्वको अकर्मण्यताले पनि पञ्चायतको बिउ उम्रिन पायो। सायद पञ्चायत व्यवस्था स्थापना नभएको भए आज गणतन्त्र प्राप्ति नभएको पनि हुन सक्थ्यो।
पञ्चायत शासन व्यवस्थाले सुधारिएको राणाशासनको स्वरूप लिन थालेपछि परिवर्तनको लागि नागरिकबाटै आवाज उठ्न थाले। आखिरीमा आरोह ,अवरोह पार गर्दै २०४७ सालमा फेरि प्रजातन्त्रलाई पुन: स्थापित गर्न सफल भयौं । तर स्थिरता भने ल्याउन सकेनौँ। अझै परिवर्तन चाह्यौँ परिवर्तनको लागि भनौ या आफ्नो सिमित स्वार्थ परिपूर्तिका लागि जनयुद्ध नामक १० वर्षे महासंग्राममा होमियौं हजारौँले ज्यान गुमाए । कतिले सपना गुमायौ, कतिले घरबार गुमायौं , कतिले सिन्दुर गुमायौ, त कतिले अभिभावक गुमायौ ; आजसम्म पनि यी यावत घाउ आलै देखिन्छन्।तर पनि चाहेको शासन व्यवस्था गणतन्त्र ल्यायौं यही ठूलो सफलता थियो।
अब कुरा गणतन्त्र कसका लागि थियो? राजतन्त्र कसका लागि थियो? प्रजातन्त्र कसका लागि थियो ?पञ्चायत कसका लागि थियो? र राणा शासन कसका लागि थियो ?यी प्रश्नहरु अनुत्तरित भएका छन् ।
सर्वसाधारण नागरिक राणाशासनमा पनि थिए, पञ्चायतमा पनि थिए ,प्रजातन्त्रमा पनि थिए, र गणतन्त्रमा पनि छन्। र उस्तै छन् उसैगरी बाँचिरहेका छन्। खासै ठुलै फड्को केही मारेको छैन। गणतन्त्रले कसले के गुमाए भन्ने कुरा एकातिर छ। तर जसले यही गणतन्त्रको लागि सबथोक गुमाए तिनले के पाए के पाउँदैछन् भन्ने कुरा महत्वपूर्ण हो। तर आज आएर के गुमाए भन्ने कुराले महत्व राखेको देखिन्छ।
सबैले देख्यौ गणतन्त्रले गुमाएको भनेकै सायद राजा मात्रै हो। नत्र किन आज राजा आउ देश बचाउ भन्नेहरुले जनता बचाउ , देश बनाउ भन्न सकिरहेका छैनन्। यसमा पनि सोच्ने बेला आएको छ। के राजा राज गर्नको लागि मात्रै चाहिएको हो र ? राज त गरिरहेकै छन् त एकको ठाउँमा अनेक छन्। यदि हामीले परिवर्तन चाहेका हौँ भने अब गणतन्त्र ,लोकतन्त्र, प्रजातन्त्र ,पञ्चायत ,राणाशासन फर्काउन होइन जनता बचाउन र देश बनाउन लाग्नुपर्छ र सबको लागि उत्तम शासन व्यवस्था यही बन्न सक्छ।
आज गणतन्त्र मन नपर्नेहरूले राजा खोजिरहेका छन्। भोलि राजा मन नपराउनेहरूले फेरि गणतन्त्र खोज्छन् र अब भन्नुस् देश र जनताको अवस्थाको लागि को लडिरहेका छन् । मात्रै सबै आफ्नो लागि लडिरहेका छन् भनौँ राजावादी राजाको लागि लडिरहेका छन्, र गणतन्त्रवादी पार्टी शासनको लागि लडिरहेका छन् । जो भएपनि आखिर आफ्नो लागि नै त छन्। त्यसैले अब अधिक सोचेर मात्रै व्यवस्था परिवर्तनको लागि लाग्नुपर्नेछ। त्योभन्दा पहिला हरेकले अवस्था परिवर्तनतर्फ ध्यान दिन सके हरेक तन्त्रमा जनताको लागि सहजता छ।
अब एकएक सचेत जनताले चनाखो भएर सोच्नुपर्ने बेला आएको छ। के मागिरहेको छु , के को लागि लडिरहेको छु, के म त्यो पाउन सक्छु ,यी यावत विषयमा विश्लेषण गर्नुपर्ने देखिन्छ। विगतदेखि पटकपटक सर्वसाधारण ‘बलिको बोको’ मात्रै बन्ने परिपाटी रहेको छ भने सँगैकोले फाइदा लिइरहेको अवस्था छ। आफू फाइदा लिनको लागि कतै बाटो भुलाइरहेका त छैनन् सायद मलाई लाग्छ पटक पटक यहाँ यस्तै भएको हो। अझै पनि त्यही परिपाटी लागू गर्न खोजेका हुन् कि …..?
गणतन्त्र दिवसको शुभकामना!!!