जबर्जस्ती करणी र कानुन : १८ बर्षे उमेरहदको न्यायिक ओैचित्य र अन्तर्राष्ट्रिय अभ्यास ।
✍️कुबेर राज जैशी / Kathuwa Rape Case को रुपमा चर्चित मुद्दामा सन १६ नोभेम्बर २०२२ मा भएको फैसलामा भारतिय सर्वोच्च अदालतका न्यायाधीश J.B. Pardiwala ले उद्धरण गरेको Kurt Cobain को महत्त्वपूर्ण भनाई बाट सुरू गर्ने चाहे।
“बलात्कार संसारको सबैभन्दा डरलाग्दो अपराध मध्येको एक हो र यो अपराध हरेक केही मिनेटमा हुन्छ । बलात्कारको सामनाका लागि खडा भएका समुहहरु महिलाहरूलाई कसरी आफ्नो रक्षा गर्ने भनेर सिकाउने प्रयास गर्छन । वास्तवमा भन्ने हो भने पुरुषहरूलाई बलात्कार नगर्नका लागि सिकाउन आवश्यक छ।“
जबर्जस्ती करणी सम्बन्धि वर्तमान कानुनी व्यवस्था :
मुलुकि अपराध संहिता , २०७४ को दफा २१९ मा जबर्जस्ती करणी सम्बन्धि व्यवस्था गरिएको छ जसको उपदफा १ मा जबर्जस्ती करणी गर्न नहुने भनेको छ भने त्यस्तै उपदफा २ मा यस दफामा “जबरजस्ती करणी” को मात्र परिभाषा दिइएको छ, तर “करणीको” परिभाषा दिइएको छैन। कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मजुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै वालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागिः
(क) करकाप अनुचित प्रभाव डर त्रास झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धका लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,
(ख) होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,
ग) गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै बस्तु योनीमा प्रवेश गराएमा पनि जवर्जस्ती करणी गरेको मानिनेछ । भनेर हाम्रो कानुनी व्यवस्थाले स्पष्ट रूपमा जबर्जस्ती करणिको बारेमा व्याख्या गरेको छ ।
तर “करणी” भन्नाले केलाई जनाउँछ भन्ने कुरा स्पष्ट रूपमा भनेको छैन र त्यसबारेमा स्पष्ट हुन जरुरी छ । शब्दकोशहरूमा करणीलाई मैथुन, सम्भोग र संस्कृत शब्दकोशमा मैथुनलाई सम्भोगसँग सम्बन्ध राख्ने, रतिक्रीडा, संयोग मिलाप भन्ने उल्लेख भएको छ । यी कुराहरूबाट करणीको परिभाषा स्पष्ट हुँदैन । जबरजस्ती करणी हुन जनेन्द्रिय अर्थात् योनिभित्र पुरुषको लिंग पूर्ण प्रवेश हुनु, स्वीको Hymen फाटेको वा च्यातिएको हुनु, वीर्य स्खलन भएको हुनुपर्छ वा लिंगको पूर्ण प्रवेश नभए पनि, योनिच्छेद नभए पनि, नच्यातिए पनि वा वीर्य स्खलन नभए पनि करणीको वारदात कायम हुन्छ भन्ने कुरा स्पष्ट गर्नु जरुरी छ । जबरजस्ती करणीले कसुरको गम्भीरता बढाउने उद्योगले कसुरको गम्भीरता घटाउने हुँदा करणीको परिभाषा स्पष्ट हुनु जरुरी छ ।
भारतीय अपराध संहिताको दफा ३७५ मा स्पष्टीकरण दिई जबरजस्ती करणीको कसुर कायम हुन यौन समागमको लागि लिंगको प्रवेश पर्याप्त हुन्छ भनिएको छ। प्रसिद्ध चिकित्साशास्त्री जे.पी. मोदीले जबरजस्ती करणीको अपराध कायम हुन लिंगको पूर्ण प्रवेश, वीर्य स्खलन र योनिच्छेद फाटेको हुनु आवश्यक छैन। वीर्य स्खलनसहित वा रहित स्त्री जनेन्द्रिय (योनि) को बाह्य भागभित्र आंशिक लिंग प्रवेश गराउनु वा लिंग प्रवेश गराउने प्रत्यत्न गर्नु मात्र पनि कानूनी प्रयोजनको निमित्त जबरजस्ती करणी पर्याप्त हुन्छ भनेका छन मोदी अफ स्पष्ट अर्थात लिंग स्वीको योनिको बाहय भाग (Vulva) मा छुनुमा पनि जबरजस्ती करणी हुन पर्याप्त हुन्छ भनेर आफ्नो पुस्तक मा लेखेका छन।
भने त्यस्तै अंग्रेजी कानूनअनुसार जबरजस्ती करणीको अपराध कायम हुन योनिमा लिंगको प्रवेश आवश्यक समागमसम्बन्धी कार्य पूर्ण नभए पनि अति सूक्ष्म प्रवेशमात्र पनि जबरजस्ती करणीको लागि पर्याप्त हुन्छ योनिको बाह्य भाग (Valva) मा लिंगको सूक्ष्मतम् प्रवेश नै पर्याप्त हुन्छ भन्ने कुरा विभिन्न अन्तर्राष्ट्रिय कानुनी प्रावधान हेर्न सक्छौ ।
नेपालको कानुनी व्यवस्था र व्यवहारगत समस्या
नेपालको कानुनअनुसार १८ वर्षमुनिका व्यक्तिसँग सहमतिमा समेत गरिएको यौनसम्बन्धलाई “जबर्जस्ती करणी” को परिधिभित्र राखिएको छ। मुलुकी फौजदारी संहिता, २०७४ को दफा २१९ ले जबर्जस्ती करणीको परिभाषा यस दफामा “जबरजस्ती करणी” को मात्र परिभाषा दिइएको छ, तर “करणीको” परिभाषा दिइएको छैन र दफा २२९ ले यसका लागि सात वर्षदेखि दश वर्षसम्मको कारावासको सजायको व्यवस्था गरेको छ।
सैद्धान्तिक रूपमा यस्तो व्यवस्था बालबालिकाको सुरक्षा र यौन शोषणको रोकथामका लागि गरिए पनि व्यवहारिक रूपमा यसले धेरै निर्दोष युवा विशेषतः किशोर अवस्थामा रहेका प्रेमीहरूको जीवन तहसनहस पार्ने स्थिति सिर्जना गरिरहेको छ।
नेपालको वर्तमान कानुनले उमेरलाई नै मुख्य आधार मानेर सहमतिको अवस्था बेवास्ता गर्छ। १८ वर्षभन्दा कम उमेरका व्यक्तिसँग सहमतिमा गरिएको यौनसम्बन्ध भए पनि त्यो स्वतः जबर्जस्ती करणी ठहरिन्छ। तर व्यवहारिक रूपमा धेरै ग्रामीण तथा अर्धसहरी क्षेत्रमा १६—१७ वर्षका किशोर—किशोरीबीच प्रेम र सहमतिमूलक सम्बन्ध सामान्यजस्तै छ।
यस्ता सम्बन्धहरूमा, खासगरी जब केटीका अभिभावक असहमति जनाउँछन् वा सामाजिक बदनामी हुने डरले उजुरी दिन्छन्, केटा स्वतः अपराधी बन्ने खतरा हुन्छ।
यो कानुनी कठोरताले ‘नियतमा शुद्ध’ सम्बन्धलाई समेत अपराधको दर्जा दिनेगर्छ, जसले न्यायको मर्ममाथि चोट पुर्याउँछ।
अन्तर्राष्ट्रिय अभ्यास:
Romeo and Juliet Clauseएक कानुनी अपवाद हो जुन अमेरिका, क्यानडा, जर्मनी, अष्ट्रेलिया लगायत देशहरूमा लागू छ।
यसको आशय हो के हो भने — किशोर—किशोरीबीचको आपसी सहमतिमा भएको यौनसम्बन्ध यदि उमेरको फरक धेरै छैन भने, त्यसलाई आपराधिक नमान्ने।
उदाहरणको लागि धेरैजसो अमेरिकी राज्यमा १६—१७ वर्ष उमेरका किशोरहरूबीच सहमति भएमा सम्बन्धलाई बलात्कार मानिन्न।
त्यस्तै नेपालले जस्तै अन्तर्राष्ट्रिय महासन्धिमा सहभागिता प्रकट गर्ने अन्य मुलुकहरुको सन्दर्भमा हेर्ने हो भने बैधानिक जबरजस्ती करणीको सम्वन्धमा सवैभन्दा कम उमेर फिलिपिन्समा रहेको पाइन्छ जहां १२ वर्ष उमेर कायम गरिएको छ (फिलिपिन्सले हालसालै वढाएर १६ वर्ष कायम गरेको छ ) । अधिकांश युरोपिय मुलूकहरुमा १६ देखी १७ वर्षको हद तोकिएको छ भने अष्ट्र्यिा, ईटाली, जर्मन र पोर्चुगलमा १४ वर्षको उमेर हद तोकिएको छ । अमेरिकामा भने राज्य पिच्छे छुट्टै कानुन भएतापनि १६ देखी १८ वर्ष विचमा रहेको पाइन्छ । अधिकतम उमेरको हद हेर्ने हो भने दक्षिण कोरियामा २० वर्ष र बहराईनमा २१ वर्ष कायम गरिएको छ । जहां सम्म जापानको प्रश्न छ त्यहाको कानूनमा सवै टापुको कानूनमा १३ वर्ष रहेको देखिन्छ । हंगकंगको कानूनमा भने प्राकृतिक यौन सम्वन्धको सम्वन्धमा सहमतीको उमेर न्युनतम १६ वर्ष छ भने अप्राकृति यौन सम्वन्धको सन्दर्भमा २१ वर्ष कायम भएको देखिन्छ । साथ साथै कतिपय मुसलमान बाहुल्य देशहरुमा जबरजस्ती करणी गरेमा विवाह गर्नुपर्ने प्रावधान समेत रहेको पाईन्छ ।
नेपालमा १६ वर्षको उमेरको हदलाई १८ वर्ष गर्नुको कुनै औचित्य देखिदैन । यो दुई वर्षको उमेर वढाईको कारण जबरजस्ती करणी सम्वन्धी अपराधमा धेरै नै युवाहरुको भविष्य अन्धकारमय भैरहेको छ । अन्य मुलुकमा न्युनतम् र अधिकतम् जतिसुकै भएतापनि औसत उमेर १६ रहेको पाउदछौ । त्यसर्थ, Romeo and Juliet clause जस्ता तर्कसंगत अपवादहरूले कानुनलाई अझ न्यायिक, मानवीय र व्यवहारिक बनाउँछ। नेपालले पनि अब यस्तो परिवर्तनको बहसलाई कानुनी एजेन्डामा ल्याउनुपर्छ।
अन्तमा जवर्जस्ती करणी पीडित महिलाको वैयक्तिक स्वतन्त्रता र आत्मनिर्णयको अधिकारमा ठाडै आघात पार्ने अमानवीय, महिलाको मानव अधिकार विरुद्धको कार्य हो ।
यसले पीडित महिलाको शारीरिक, मानसिक, पारिवारिक, आध्यात्मिक जीवनमा नराम्रो असर पार्ने मात्र होइन कि महिलाको आत्मसम्मान र अस्तित्वमा नै आंच पुर्याउदछ । यो अपराध पीडित महिला विरुद्धको मात्र नभई सिंगो समाज विरद्धको अपराध हो । हत्याले मानिसको भौतिक शरीर नष्ट पारिदिन्छ तर जवर्जस्ती करणीको अपराधले पीडित महिलाको शारीरिक, आध्यात्मिक स्थितिलाई नै क्षतविक्षत गर्दछ । त्यसैले यो एउटा निष्कृष्ट अपराध हो” । (मिरा ढुंगाना वि.श्री ५ को सरकार, सं.२०५८ सालको रि.नं.५५) यो एकदमै गम्भीर तथा सामाजिक अपराध भएकोले यसको बारेमा व्यापक सुधार गर्नु अत्यन्त आवश्यक छ।
✍️लेखक : कुबेर राज जैशी
(कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत हुनुहुन्छ।)