धनगढी,३ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्नी आमाको उपचारका क्रममा राजनीति त्याग्नेबारे सोचेको खुलासा गरेका छन् । आमाको स्वास्थ्य कमजोर भएपछि भावुक बनेका चौधरीले आमासँग सोधे– ‘राजनीति छोडिदिऊँ आमा र? रेशम चौधरी आफ्नी आमाको उपचारका लागि नेपालगन्ज पुगेका थिए । त्यसअघि काठमाडौँबाट फर्केका दिन उनलाई आमाको फोन आएको थियो । रेशम चौधरीले आफ्नो फेसबुकमा लेखेका छन्– ‘छोरा, मलाई रिँगटा लागिरहन्छ, उपचार गराउन नेपालगन्ज लान्छौ र?’ आमाले आग्रह गरेपछि चौधरीले तुरुन्तै उनलाई लिएर जिल्ला अस्पताल बर्दिया लगे ।
अस्पतालमा परीक्षण भइरहँदा आमाले चिकित्सकसँग भावुक हुँदै भनिन्– ‘म बिरामी होइन डा।साप । मेरो छोरा रेशमलाई पुलिसले समातेर जेल पुर्याएको रातदेखि म सुत्न सकेकी छैन । मेरो निर्दोष छोरालाई किन पटक–पटक समातेर जेल लान्छन् हँ ?’ चिकित्सकले आमालाई सान्त्वना दिँदै भने– ‘अब लान्नन् ।’ तर आमाको थकित अनुहार र कमजोर अवस्था देखेर रेशम चौधरी दिनभर मनमा राजनीतिको भविष्यबारे घोत्लिए । साँझको खाना खाँदै गर्दा आमासँग सोधे–‘राजनीति छोडिदिऊँ आमा र?’
आमाले केही क्षणको मौनतापछि जवाफ दिइन्– ‘तैँले राजनीति छोडे हामी सबै थारुहरूको बिजोग हुन्छ बा । अब त झन् छोड्नुहुन्न ।’ रेशम चौधरीले आमाले त्यसपछि जुन शब्द बोलेकी थिइन् त्यसलाई आफूले शब्दमा उतार्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।