मेरो देश : नेपाल–सगरमाथाको देश, बुद्धको भूमी, अनि प्राकृतिक सुन्दरताले भरिपूर्ण देश । तर आज हामी, यही देशका युवाहरू, भित्रभित्रै निराश छौं । हामीहरुका मनहरू थकित छन्, आँखामा सपना छन् तर ती सपना यथार्थमा बदल्ने बाटोको पहिचान गर्न सकिरहेका छैनौँ ।
हामी भन्छौं, “देशले केही गरेन, सरकार फेल भयो, नेताहरूले केवल आफ्नै स्वार्थ देखे ।“ हामी बर्सेनी युवाहरू विदेशिएको दृश्य हेर्छौं र सोच्छौं, “हामीसँग पनि त्यही बाटो मात्र बाँकी छ ।“
हो, सायद हामीसँग गुनासो गर्ने कारण छन् । बेरोजगारी, अवसरको अभाव, र युवा आवाजको सुनुवाइ नहुनु, । हामी पढेलेखेका छौं, तर सीपलाई प्रयोग गर्ने ठाउँ छैन । हामी सिर्जनशील छौं, तर त्यो सिर्जनालाई फक्रिने वातावरण छैन ।
तर एकछिन गम्भीर भएर सोचौं– हामी के गर्दैछौं ? के केवल दोष दिनु, गाली गर्नु, र छाडेर जानु नै समाधान हो ? के सधैं “सरकारले केही गरेन“ भनेर आफैंले पनि केही नगर्नु नै सही हो ? हामी युवाहरू सधैं नेता, व्यवस्था, प्रणालीप्रति आक्रोशित हुन्छौं । तर कहिल्यै आफूभित्रको जिम्मेवारीलाई झस्काउने प्रयास गर्छौं त ?
अब समय बदलिएको छ । हामी अब यो बुझ्नैपर्छ कि देशप्रति प्रेम केवल गुनासोमा सीमित हुनु हुँदैन । देश बनाउनलाई संकल्प चाहिन्छ, र त्यो संकल्प हामी युवाहरूबाट सुरु हुनुपर्छ ।
अब हामी सुध्रनु पर्छ…
हामी अब दोष दिने होइन, योगदान दिने पुस्ता बन्नुपर्छ । हामी अब समस्याको आवाज होइन, समाधानको पहिचान बन्नुपर्छ । हामी जहाँ छौं, त्यहीँबाट सानो परिवर्तन ल्याउने कोशिस गरौं ।
स्कूलमा पढाउने शिक्षक बनेर सोच बदलौं, गाउँमा कृषिमा नवप्रवर्तन ल्याएर आत्मनिर्भरता फैलाऔं, सूचना प्रविधिमा काम गरेर देशलाई डिजिटल बनाऔं । देशप्रेमको अभिव्यक्ति भाषणमा होइन, कर्ममा देखिनुपर्छ।
सकारात्मक सोच फैलाऔं…
“यो देशबाट केही हुँदैन” भन्ने होइन, “हामी मिलेर यो देशलाई बनाउँछौं” भन्ने भावना जगाऔं । हामी आज निराश छौं, तर यदि हामी सबैले आफ्नो ठाउँबाट कर्म ग¥यौं भने यही देश आशाको उज्यालो बन्न सक्छ । आजको असफलता भोलिको प्रेरणा बन्न सक्छ । भोलिको समृद्ध नेपाल हामी आफैंले निर्माण गर्न सक्छौं । सरकार बदलिन्छ, व्यवस्था बदलिन्छ, तर सोच बदलिन ढिला हुन्छ । र त्यो सोच हामीबाटै बदलिनुपर्छ ।
हामी भोलिका प्रधानमन्त्री मात्र होइन, आजका सचेत नागरिक बन्नुपर्छ । हामीले आफ्ना कर्तव्य बुझ्यौं भने अधिकार आफैं सुरक्षित हुन्छ । हामीले राष्ट्रप्रेम केवल मनमा राख्यौं भने होइन, त्यो कर्ममा उतार्यौं भने मात्रै देश बदलिन्छ । गुनासो होइन, योगदानबाट अघि बढ्न सिक्नुपर्छ । आशावादी बनौं, प्रेरणा फैलाऔं, सहयोग गरौं, र हामी युवाहरू मिलेर नयाँ नेपालको निर्माण गर्न अग्रसर बनौँ ।