धनगढी — विगतको जस्तो पानी अभावमा धानको ब्याड राख्ने समस्या अहिले कैलालीको पुर्वी भेकका किसानलाई छैन । रानी, जमरा, कुलरिया सिँंचाई आयोजनाको नहरमा पानी आएपछि किसानलाई सहज भएको हो ।
टीकापुर १ का किसान जितबहादुर चौधरीले पहिलाको जस्तो धानको ब्याड राख्न बोरिङ चलाउनु नपरेको बताए । उनले भने, ‘नहरमा प्रशस्त पानी आएपछि वर्षे धान खेतीका लागि केही समस्या छैन । बरु मल पाइने हो/होइन भन्ने पो चिन्ता छ ।’
कुलोमा प्रशस्त पानी भएपछि किसानले वर्षे धान खेतीको लागि ब्याड राखिसकेका छन् । जानकी गाउँपालिकाका लालबहादुर चौधरीले भने, ‘यो वर्ष देशावरमा धेरै मिहिनेत लागेन, सिंँचाई आयोजनाले नहर बनाएपछि पानी चाँडै आइहाल्यो । रोपाई पनि सुरु भयो ।’
विगतका वर्षमा गाउँका बडघरहरू सबै किसान भेला गराई रानी, जमरा र कुलरिया कुलोको मुहान सफा गरेर पानी ल्याउनुपर्ने र महिनौं मिहिनेत गर्दा पनि पानी आवश्यक मात्रामा पानी नपुग्ने समस्या रहेको रानी, जमरा, कुलरिया कुलो सिंँचाई उपभोक्ता समुहका उपाध्यक्ष दामोदर खडका बताउँछन् । ‘अहिले यहाँका किसानलाई त्यो समस्या छैन,’ उनले सुनाए ।
सिंँचाइ परियोजनाको काम सकिएपछि व्यवस्थित सिंचाई सुविधा हुनेमा आफु आशावादी भएको जमरा कुलो जलउपभोक्ता समिति अध्यक्ष लालवीर चौधरी बताउँछन् । उनले भने, ‘सिंँचाई आयोजना सुरु भएपछि किसानले खन्नुपर्ने मुहान स्काभेटरले पनि खनिदिने गरेको छ । यसबाट किसानलाई महिनौं खन्नुपर्ने बाध्यता हटेको छ ।’
आयोजनाको जम्मा लगानीको करिब ८ प्रतिशत जति श्रमदान गर्नुपर्ने प्रावधान राखिएकाले देशावर जारी रहेको लालवीर चौधरीले बताए । उनले भने, ‘वर्षे धान खेतीका लागि सिंँचाइ समस्या छैन । अबको केही वर्षमा बाह्रैमहिना कुलोमा पानी ल्याउने कुरा छ ।’
गणेश चौधरी, टीकापुर, कान्तिपुरबाट