धनगढी,१७ बैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी थुनामुक्त भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको सञ्चारमाध्यमलाई बताए
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ लगत्तै उनलाई डिल्लीबजार कारागारमा बुझाइएको थियो ।
उनलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न भन्दै बुधबार दिउँसो प्रज्ञा प्रतिष्ठान कमलादीबाट प्रहरीले पक्राउ गरेको थियो ।
सर्वोच्च अदालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि चौधरी पक्राउ परेका थिए । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपित रामचन्द्र पौडेलबाट यसअघि भएको आम माफीको निर्णय नै उल्ट्याइदिँदै पक्राउ गर्न पत्र काटेका थिए ।
विष्टको पत्र ’अनधिकृत’ रहेको पाइएपछि प्रहरीले विष्टलाई पक्राउ गरिसकेको छ । विष्ट पक्राउ गरेसँगै चौधरी डिल्लीबजार कारागारबाट छुटेका हुन् । २०८० जेठ १४ राष्ट्रपतिद्वारा दिइएको आममाफीको निर्णयविरुघ परेको रिट सर्वोच्चमा विचारधीन छ ।