धनगढी,१७ बैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतका एक शाखा अधिकृतले लेखेको पत्रमा कैफियत पाइएपछि सर्वोच्च अदालतले रेशम चौधरीलाई थुनामुक्त गर्न अर्को पत्र लेख्ने भएको छ ।
शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको पत्र बदर गर्दै नयाँ पत्र काटेर रशेमलाई थुनामुक्त गर्ने प्रक्रियामा सर्वोच्च अदालत गइसकेको प्रतिष्ठित समाचार पोर्टल नेपालखबरले जनाएको छ ।
सो पोर्टलका अनुसार सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्र ढकालले यस विषयमा छानबिन गर्न मातहत अधिकारीलाई भनेका छन् ।
सर्वोच्चको पत्रका आधारमा रेशम पक्राउ परेको खबर थाहा पाएपछि उनले सबै महाशाखा प्रमुखहरू बोलाएर सोधीखोजी गरेका थिए । सबैले अनभिज्ञता प्रकट गरेका थिए ।
सर्वोच्चको मुद्दा तथा रिट महाशाखाको चलानी नं १९२७७ भएको पत्र प्रहरीबाट सार्वजनिक भएपछि सर्वोच्चले छानबिन थालेको छ ।
उक्त पत्र कहाँबाट गयो भन्ने कुरामा सर्वोच्चका अधिकारीहरू दिनभरजसो अलमलमा रहे । सर्वोच्च अदालतभित्रै व्यापक बुझ्ने काम भयो ।
सर्वोच्चका एक सहरजिस्ट्रारका अनुसार, विष्ट आफै रेशम चौधरीलाई बाँकी कैद भुक्तानका लागि पक्राउ गर्नुपर्ने कारण खुलाइएको पत्र तयार पारेर नेपाल प्रहरीका महानिरीक्षक दीपक थापालाई भेट्न गएको खुलेको छ ।
सर्वोच्चका ती अधिकारीका अनुसार उक्त पत्राचार कर्मचारीको आचरणअनुकूल नभएको पाइएको छ ।
‘पत्र लेख्ने अधिकार भए पनि मुद्दाको मेरिटमा प्रवेश गर्ने अख्तियारी थिएन । अब आन्तरिक कारबाहीको तयारी भएको छ,’ ती अधिकारीले सो पोर्टलसँग भनेका छन््, ‘कारबाही त गर्नैपर्छ । अब रेशमलाई रिहाइ गर्ने पत्र फेरि पठाउने तयारी छ ।’