धनगढी,१७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीका नेता कार्यकर्ताले परम्परागत तथा मौलिक परिकारबाट स्वागत गरे । मधेश हुलाकी मार्ग जागरण अभियानको अन्तर्गत कैलाली पुगेका माओवादी अध्यक्षसहितका पदाधिकारीहरूलाई स्थानीयले आफ्नै घरमा पाकेको थारु पहिचानसँग जोडिएका परिकार खुवाएका थिए ।
कैलारी गाउँपालिका ५ बैजपुरमा माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूको लागि चामलको कनिकाबाट बनाइने खुडिक कपुवा खुवाइयो । मुसा, गँगटा र बयरको चटनी लोकल कुखुराको मासु, घोँघी, खरियालगायत परिकार स्वाद मानिमानी खाए ।
स्थानीयहरू कार्यक्रम हुनु एक दिन अगाडिदेखि नै मुसाको खोजीमा खेत खन्न लागेका थिए । घोंघी, गँगटा र माछा मार्न कटैनी र मोहना नदीदेखि तालतलैया गएका थिए । जागरण टोलीमा आउनेलाई स्थानीयले सालको टपरी र दुनामा खुवाएका थिए । सोही अनुसार प्रचण्डलगायत नेताहरूलाई टपरी भात पस्के । दुनामा तरकारी ।
‘हामीले हाम्रो पहिचान झल्किने खाना उहाँहरूलाई खुवाएका हौँ’ कैलाली गाउँपालिका अध्यक्ष बतासु चौधरीले भने, ‘हामी जसरी खान्छौँ उहाँहरूले पनि त्यसैगरी खानु भयो ।’ परम्परागत परिकार खाएका प्रचण्डसहितका नेताहरूले परिकारबारे पनि जानकारी लिएका थिए ।
खाना मात्रै होइन, स्थानीयले पाहुनालाई खाना खुवाउँदा होस् या कार्यक्रममा बसाउन कुर्सीको गरेनन् । बस्न खटियाको प्रयोग गरे । गर्मी छल्न विद्युतीय पङ्खा होइन, बेना (हाते पङ्खा) प्रयोग गराए । घरको भित्र खुवाएनन् बरण्डामै बसाए ।