धनगढी, १४ वैशाख/कैलालीमा सुदूरपश्चिममै पहिलोपटक वडा कार्यालयमा आयुर्वेदिक सेवा केन्द्रको स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका–५ जाँईमा वडा कार्यालयले नागरिकलाई प्राकृतिक चिकित्सा पद्यतिलाई प्रोत्साहन गर्ने उदेश्यले सो सेवा दिन थालेको छ । आईतबार एका कार्यक्रमको आयोजिना गरी स्थापित आयुर्वेदिक सेवा केन्द्रको नवनिर्मित भवनको सुदूरपश्चिम प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले उद्घाटन् गरेका हुन् । भवनको उद्घाटनसंगै आयुर्वेदिक उपचार सेवा समेत सुरु भएको छ । वडा नम्बर ५ परिसर भित्र भवन उद्घाटनसंगै उपचार सेवा समेत सुरु भएको हो । आयुर्वेदिक सेवा केन्द्र सुरु गर्ने वडा नम्बर ५ सुदूरपश्चिम प्रदेशको पहिलो वडा हो ।
आयुर्वेदिक सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले वडा नम्बर ५ का जनप्रतिनिधिले नौलो र उदाहरणीय काम गरेको बताएका छन् । पूर्व मन्त्री प्रकाशबहादुर देउवाले यो नमुना कार्य उपमहानगरका सबै वडासम्म पुग्नुपर्ने र त्यसका लागि आफू यस क्षेत्रको जनप्रतिनिधि प्रदेश संरचनाभित्रको प्रदेश सभा सदस्य भएको नाताले आवश्यक भौतिक संरचना निर्माणका लागि आवश्यक सहयोग गर्न पहल गर्ने बताएका छन् ।
वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीले वडा नम्बर ५ ले संचालन गरेको आयुर्वेदिक सेवा केन्द्र प्रदेशकै पहिलो भएको दाबी गरेका छन् । अध्यक्ष शाहीले वडा नम्बर ५ परिसरभित्र आयुर्वेदिक सेवा केन्द्रको भवन निर्माणका लागि सहयोग गरिदिनुभएकोमा पूर्व मन्त्री प्रकाशबहादुर देउवालाई धन्यवाद दिएका छन् । आयुर्वेदिक सेवा केन्द्रबाट वडा नम्बर ५ र ६ का नागरिकले बढी लाभ लिन सक्ने अध्यक्ष शाहीको भनाई छ । अध्यक्ष गजेन्द्र शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा डा. रविन्द्र कुमार यादव, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मीराज उपाध्याय, वडा नम्बर ५ का सदस्य, पत्रकार तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।