काठमाडौं, १४ वैशाख / काठमाडौंमा २७ दिनदेखि जारी शिक्षकहरूको आन्दोलनमा आइतबार झडप भएको छ । आन्दोलन एक महिना पुग्न लाग्दा शान्तिपूर्ण प्रदर्शन भइरहेको थियो । तर आइतबार शिक्षकहरूले नयाँबानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।
शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। बल प्रयोगपछि शिक्षकहरूले ढुंगामुढा गर्न थालेका थिए। प्रहरीले आन्दोलनकारी शिक्षक पानीको फोहरासमेत प्रयोग गरेको छ। विद्यालय शिक्षा विधेयकसहित विभिन्न माग राखेर देशभरका शिक्षक काठमाडौंमा २७ दिनदेखि आन्दोलित छन् ।
झडपका क्रममा १५ जना बढी शिक्षक घाइते भएका छन् । घाइतेहरूको विवरण संकल गर्ने काम भइरहेको छ । गत २० चैतदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् ।