धनगढी,२८ चैत / जिल्लाको प्रमुख क्याम्पस दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवार प्रकाश बडू विजयी भएका छन् । संयुक्त उम्मेदवार रहेका प्रकाशले अनेरास्ववियुका खडक ठगुन्नालाई ३१ मतान्तरले पराजित गरेका हुन् ।
बुधबार सम्पन्न निर्वाचनमा कुल खसेको चार सय ४९ मतमध्ये सभापतिमा निर्वाचित प्रकाशले दुई सय २२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका खडक ठगुन्नाले एक सय ९१ मत प्राप्त गरेका छन् । सभापतिका स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले २० मत पाएको निर्वाचन अधिकृत करनसिंह सावदले बताए ।
त्यस्तै, स्ववियु सचिवमा संयुक्त प्यानल अखिल क्रान्तिकारीका लालसिंह महरले दुई सय १८ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका दिपुसिंह महताले दुई सय १५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा पनि संयुक्त प्यानल नेविसंघका जगतसिंह धामीले दुई सय ४० मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका कुसुम धामीले दुई सय ३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, स्ववियुको सदस्यहरुमा पनि संयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन् । सदस्यहरुमा संयुक्त प्यानल नेविसंघका बसन्ती बोहरा दुई सय २५, संगीता धामी दुई सय ३३, रमिता जोशी दुई सय २५, तनिशा निरौला दुई सय ३५, अखिल क्रान्तिकारीका प्रेमसिंह धामी दुई सय २७ र अखिलकै सरोजनी ठगुन्नाले दुई सय ३१ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत सावदले जानकारी दिए ।