धनगढी,१६ चैत / भारतीय तीर्थयात्री बोकेको ट्रयाक्टर कैलालीमा दुर्घटना भएको छ । भारतीय नम्बर प्लेटको ट्रयाक्टर जिल्लाको कैलारी गाउँपालिकामा दुर्घटना भएको हो । बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका तीर्थालु बोकेको सोनालिका ट्रयाक्टर कैलारी गाउँपालिका–५ को मनिकापुरमा दुर्घटना भएको हो। हुलाकी राजमार्गबाट ट्रयाक्टर खेतमा पल्टेको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ ।
सो क्षेत्रमा बाढीले राजमार्ग बिगारेको छ । दुर्घटनामा परी कम्तीमा १५/१६ जना घाइते भएको जनाइएको छ। जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि चार वटा एम्बुलेन्समा राखेर अस्पतालतर्फ पठाउने कार्य भएको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।