काठमाडौं / शुक्रवार तीनकुनेमा भएको राजावादी पक्षधरहरूको आन्दोलनमा पत्रकार दिनेश गौतममाथि आक्रमण भएको छ । आक्रमणमा परेर अनलाइनखबरमा कार्यरत पत्रकार गौतमको खुट्टा भाँच्चिएको छ ।
रिपोर्टिङका लागी तीनकुने क्षेत्र पुगेका पत्रकार गौतममाथि प्रहरीको बन्दुक खोसेको तस्बीर खिच्ने क्रममा राजावादी प्रदर्शनकारीहरूले आक्रमण गरेका थिए । फोटो खिचेपछि प्रदर्शनकारीहरू आफूमाथि आइलागेको गौतमले नेपालभ्युजलाई बताए । प्रदर्शनकारीहरूले माहोललाई थप उत्तेजित बनाउन गौतमलाई सीआईडी रहेको आरोप समेत लगाएका थिए ।
‘फोटो खिचेपछि सीआईडी हो भन्दै धकेले,अनि कुटपिट गरे,’ गौतमले भने । गौतमको देब्रे खुट्टाको गोलीगाँठाको छेउमा भाँचिएको छ । राजसंस्था पुनर्स्थापनाको माग राख्दै गरिएको आन्दोलनमा सञ्चार गृह र सञ्चारकर्मी निसानामा परेका छन् । प्रदर्शनले उग्र रूप लिँदा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ । प्रदर्शनकारीहरूले कान्तिपुर, अन्नपूर्ण पोस्ट लगायतका सञ्चारमाध्यम तोडफोड गरेका थिए ।