धनगढी,१५ चैत्र / अनौपचारिक श्रमिकहरूको श्रम शोषण अन्त्यका लागि ७ बुँदे माग बुझाएका छन् । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका अनौपचारिक क्षेत्रका श्रमिकहरूले आफूहरूले भोगिरहेको शोषण, उत्पीडन, तथा अन्यायको अन्त्यका लागि ७ बुँदे मागपत्र सामाजिक विकास समितिका सभापति धर्मराज पाठकलाई बुझाएका छन्। धनगढीमा चैत्र १४ र १५ गते आयोजित दुई दिने “अनौपचारिक क्षेत्रका श्रमिकहरूको प्रादेशस्तरीय कार्यशाला पछि उक्त मागपत्र बुझाएका हुन् ।
कार्यक्रमा सहभागी २८ जना श्रमिक महिलाहरूले न्यून ज्याला, लामो कार्य अवधि, कार्यस्थलमा हुने हिंसा, बीमा र सुरक्षाको अभावजस्ता समस्या रहेको बताए। उनीहरूले राज्यले पारित गरेका नीतिहरूको कार्यान्वयनको माग गर्दै श्रमको सम्मान र सामाजिक न्यायसहितको विकासको लागि आवाज उठाएका छन्।
अनौपचारिक श्रमिकहरूले ज्याला विभेद अन्त्य गर्न, निश्चित कार्य अवधि तोक्न, ओभरटाइम ज्याला उपलब्ध गराउन, हिंसारहित कार्यस्थल सुनिश्चित गर्न, सुरक्षा सामग्री र स्वास्थ्य बीमाको व्यवस्था गर्न, श्रमिक पहिचान र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन तथा मुक्तकमैया, हलिया र कमलरी पुनस्र्थापना कार्यविधि कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
“श्रमको सम्मान गरौं, सामाजिक न्यायसहितको विकासमा अघि बढौं” नारासहित आयोजित यो कार्यक्रम सम विकास केन्द्र नेपाल, डोटीको आयोजनामा तथा एक्शन एडको सहकार्यमा सम्पन्न भएको थियो।


