कैलाली ९ चैत्र/ सुदूरपश्चिम प्रदेश अन्तर्गत महाकाली नदीमा राफ्टिङ प्रवद्र्धन र दिगोपनका लागि संयुक्त कार्ययोजना तयार पारिएको छ । ३२ औँ विश्व पानी दिवसको अवसरमा शनिबार धनगढीमा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्धारा संचालित ट्रोसा परियोजनाको आयोजनामा एक कार्यशाला आयोजना गरि महाकाली नदीमा राफ्टिङ प्रवद्र्धन र दिगोपनका लागी कार्ययोजना तयार गरिएको हो ।
महाकाली नदी किनारमा रहेका भिमदत्त नगरपालिका, परशुराम नगरपालिका, भागेश्वर गाउँपालिका तथा महाकाली नगरपालिकाका प्रतिनिधिका साथै निजी क्षेत्र, होटल तथा पर्यटन व्यवसायी,रुडुक र अक्सफाम नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यशालाले आ.व. २०८२र८३ का लागि राफ्टिङ प्रवद्र्धन तथा दिगोपनका लागि संयुक्त कार्ययोजना तयार गरेका छन । सहभागीहरुले कार्यशालामा तीनै तहका सरकारहरूलाई समेटी, तिनका भूमिका, जिम्मेवारी र कार्यान्वयनको समयरेखा स्पष्ट रूपमा परिभाषित गरेका छन साथै, महाकाली नदीमा राफ्टिङसम्बन्धी चुनौती र अवसरबारे पनि सहभागीहरूले व्यापक छलफल गरेका छन ।
कार्ययोजना अन्तर्गत प्रदेश जलयात्रा नीति ऐन नियमावली निर्माण गर्ने, स्थानिय तहमा जलयात्रा कार्यविधि निर्माण गर्ने, दार्चुला देखि कञ्चनपुर सम्मको लामो तथा छोटो समयको जलयात्राको प्याकेज निर्माण गर्ने, जलयात्रा क्षेत्रमा यातायात व्यवस्थापन सहज बनाउने लगाएतका योजनाहरु निर्माण गरेका छन । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको उपस्थित रहेको थियो । पूर्व आन्तरीक मामीला मन्त्री डा. रणबहादुर रावलको समेत सहभागिता रहेको थियो । रावल उक्त कार्यक्रममा बिज्ञका रुपमा रहेका थिए ।
कार्यशालाको क्रममा तीन जिल्लाका प्रतिनिधिहरूले महाकाली नदीमा व्यावसायिक राफ्टिङ प्रवद्र्धनका लागि भइरहेको पहल, दृष्टिकोण, र योजनाहरू प्रस्तुत गरे। छलफलमा महाकाली नदी बेसिनका नदी किनाराका समुदायहरूको जीविकोपार्जनमा राफ्टिङले पुर्याउन सक्ने योगदानलाई विशेष प्राथमिकता दिइयो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह थापाले महाकाली नदीमा व्यावसायिक राफ्टिङ प्रवद्र्धन गर्न सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । साथै मन्त्री थापाले अभियानलाई अघि बढाउन स्थानीय सरकार, निजी क्षेत्र, तथा कार्यान्वयन साझेदारहरूको सहकार्यको उच्च प्रशंसा गरे।