धनगढी, ७ चैत / त्रिभुवन विश्वविद्यालयअन्तर्गत सुदूरपश्चिम प्रदेशका क्याम्पसहरूको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो स्थानमा आएको छ। नेविसंघले १७ क्याम्पसमा विजय हासिल गरेको छ भने नेकपा एमालेसम्बद्ध अनेरास्ववियु र नेकपा माओवादी केन्द्रसम्बद्ध अखिल (क्रान्तिकारी) समान ९/९ क्याम्पसमा विजयी भएका छन्।
कैलालीका ९ क्याम्पसमा सम्पन्न निर्वाचनमा ५ क्याम्पसमा नेविसंघ र ४ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएका छन्। अनेरास्ववियु भने कैलालीका कुनै पनि क्याम्पसमा विजयी हुन सकेन।
ऐश्वर्य बहुमुखी क्याम्पस धनगढीमा दीपकराज भट्ट, फूलबारी बहुमुखी क्याम्पसमा भुवन जोशी, मोहन्याल बहुमुखी क्याम्पस भजनीमा झंकर बुढा, रघुनाथ बहुमुखी क्याम्पस जोशीपुरमा रञ्जित परियार, विरेन्द्र बहुमुखी क्याम्पस टीकापुरमा गोपाल खत्री नेविसंघको तर्फबाट विजयी भए ।
यस्तै अखिल क्रान्तिकारीको तर्फबाट लम्की बहुमुखी क्याम्पसमा तपेद्र प्याकुरेल, बुलबुले बहुमुखी क्याम्पसमा विवेक चौधरी, राष्ट्रिय कलेज सुखडमा सुन्दर गौतम, खप्तड बहुमुखी क्याम्पसमा सागर चौधरी, चौमाला बहुमुखी क्याम्पसमा नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशीले समान १५५ मत प्राप्त गरेपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदवार योगेन्द्र कुमार जोशी चयन भएका छन् ।
कञ्चनपुरका ८ क्याम्पसमा सम्पन्न निर्वाचनमा ५ क्याम्पसमा विजयी हुँदै नेविसंघले बलियो उपस्थिति देखाएको छ।
यसरी, सुदूरपश्चिमका क्याम्पसहरूमा सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघ पहिलो स्थानमा रहँदा अनेरास्ववियु र अखिल क्रान्तिकारीले समान रूपमा उपस्थिति जनाएका छन्।
