आफ्नै मनका मुद्दा सुन्ने, दोषी र निर्दोषको अन्त्यहीन बहसमा घरी म आफैं न्यायाधीश हुन पुग्छु, घरी आफैँ अभियुक्त !
मनको कुनामा थुप्रिएका छन् अपराधहरू केही स्विकार्नै नसकिएका, केहि स्वीकारिका ! र, केही त जसलाई म अझै ‘गल्ती’ भन्न पनि डराउँछु ! के म निर्दोष छु ? कि म दोषी हुँ आफ्नो सपनाहरूको हत्या गर्ने ? यो उत्तर पाउन दिनहुँ म आफ्नै इजलासमा उभिने गर्छु ! घरी आफैँले आफैँलाई दोषी करार गर्छु घरी आफ्नै बचाउमा तर्कहिन तर्कहरू पेश गर्छु, केहि त सुन्दै हास्यास्पद लाग्ने !
कहिले आफ्नो पक्षमा, कहिले आफ्नो विपक्षमा, कहिले आफैँ प्रति निर्मम, त कहिले पक्षपाती ! आँसु बगाएर आफैँसँग सहानुभूति लिन, आँफैलाई ईमोस्नल ब्ल्याकमेल गर्न समेत पछि पर्दिन ! यसो हेर्छु आफूलाई -ओहो, म कति ढोङ्गी छु कति पाखण्डी छु ! आफैँसँग झुट बोल्छु, आफ्नै विरुद्ध षडयन्त्र गर्छ ! घरी आफ्नो कमजोरी ढाकछोप गर्न खोज्छु, घरी आफैँलाई जलिल गर्न पुग्छु ! मनको कठघरामा आफुलाई खडा गराई, गीतामा हात राख्न लगाई, झुटमा झुट थपेको आफ्नो अहङ्कारलाई बाईज्जत निर्दोष साबित गरेर स्वतन्त्र गरिदिन्छु ।
यो इजलास अझै बाँकी छ, फैसलाहरू अधुरा छन्, र, म न्याय मागिरहेछु आफैंसँग, आफ्नै आत्माको इजलासमा !
लेखक:-आकाश खड्का,कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत हुनुहुन्छ।