यमुना साउद। धनगढी ७ फागुन । इन्सेकले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२५ अनुसार सन् २०२४ मा नेपालभर १०,७३४ जना मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएका छन्। सार्वजनिक प्रतिवेदनअनुसार मानव अधिकार उल्लङ्घनका घटनामा ४५८ जना (११४ महिला, ३४४ पुरुष) र ज्याजतिका घटनामा १०,२७६ जना (९,५७२ महिला, ७०४ पुरुष) पीडित भएका छन्। यो संख्या गत वर्षको तुलनामा १,३४६ ले बढेको हो।
राज्यपक्षबाट एक जनाको हत्या, ३७ जना गिरफ्तारी, ४७ जना कुटपिट, दोहोरो झडपमा ४३ जना घाइते, गोली लागेर ६ जना, धारिलो हतियारबाट ११ जना घाइते भएका छन्। जातीय विभेदका घटनामा सार्वजनिक स्थल प्रवेशमा रोक लगाइएका एक जना तथा भेला तथा संगठित हुने अधिकारमा १५६ जना पीडित भएका छन्। कारागारमा ६० जना चारजना महिला सहित तथा प्रहरी हिरासतमा ५ जना पुरुषको मृत्यु भएको छ।
सन् २०२४ मा महिलामाथि हुने हिंसाका घटनामा ७,५८३ जना पीडित भएका छन्। घरेलु हिंसामा ५,८७६, कथित बोक्सी आरोपमा २९, बलात्कारमा ६६४, बलात्कार प्रयासमा १४४, यौन दुर्व्यवहारमा ३१, दाइजो जन्य हिंसामा २१२, बलात्कारपछि हत्या घटनामा ७ र परिवारजनबाट हत्या घटनामा एक जना पीडित भएको छ।
बालबालिकामाथि हुने हिंसाका घटनामा १,७५८ जना बालबालिका पीडित भएका छन्। बलात्कारमा ९३६, हाडनाताकरणी बलात्कारमा ६२, सामूहिक बलात्कारमा ४९, साइबर अपराधमा २०३, विद्यालयमा हुने शारीरिक यातनामा २६, नवजात शिशु हत्या घटनामा ८, बलात्कारपछि हत्या घटनामा १, यौन दुर्व्यवहारमा ३६८ जना पीडित भएका छन्।
सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घनको अवस्था
सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा १,०९९ जना मानव अधिकार उल्लङ्घनका घटनामा पीडित भएका छन्। ११ घटनामा १ महिला र १० पुरुष तथा ज्याजतिका १,०७० घटनामा १,०५४ महिला र ३४ पुरुष गरी १,०८८ जना पीडित भएका छन्। यो संख्या गत वर्षको तुलनामा १०२ ले घटेको छ।
राज्यपक्षबाट कुटपिटमा २ जना, गिरफ्तारीमा ६ जना, जेलमा मृत्यु भएका १ जना, हिरासतमा मृत्यु भएका १ जना तथा अमानवीय व्यवहार घटनामा १ जना पीडित भएका छन्। यस वर्ष महिलामाथि हुने हिंसाका घटनामा ९४७ जना पीडित भएका छन्। घरेलु हिंसामा ८३२, बलात्कारमा ६३, बलात्कार प्रयासमा १३, यौन दुर्व्यवहारमा ४, बलात्कारपछि हत्या घटनामा १, सामूहिक बलात्कारमा ५, वैवाहिक बलात्कारमा ११, बेचबिखन तथा ओसारपोसार प्रयासमा २, बेचबिखन तथा ओसारपोसार घटनामा ५, साइबर अपराधमा २, बोक्सी आरोपमा २ र परिवारजनबाट हत्या घटनामा ७ जना महिला पीडित भएका छन्।
बाल अधिकार उल्लङ्घनका घटनामा १०५ जना पीडित भएका छन्। बलात्कारमा ५८, सामूहिक बलात्कारमा ६, यौन दुर्व्यवहारमा २४, बलात्कारपछि हत्या घटनामा १, व्यभिचारमा ८, बालविवाहमा २, बेचबिखन तथा ओसारपोसार घटनामा ४, शारीरिक यातना घटनामा २ जना पीडित भएका छन्। यस्तै जाति विभे दका घटनामा यस वर्ष एकजना महिलासहित तीनजना पीडित भएका छन्।
इन्सेक सुदूरपश्चिम संयोजक खडकराज जोशीले घरेलु हिंसाका उजुरीहरू बढ्दै गइरहेका छन्। धेरैजसो घटनाहरू गुपचुप मिलाइने वा पीडित महिलालाई दोषी देखाएर आरोपितलाई उन्मुक्ति दिने प्रवृत्ति कायमै रहेको उनले बताए। घरेलु हिंसा नियन्त्रणका लागि कानुन कार्यान्वयन प्रभावकारी नभएकाले समस्या ज्यूँका त्यूँ रहेको उनको भनाइ छ।
इन्सेकले जिल्लामा वातावरणीय अधिकार उल्लङ्घनको अवस्थाको पनि अनुगमन गरेको छ। बसाइँसराइ, खाद्य संकट, वायु प्रदूषण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी अभावका कारण धेरै नागरिक प्रभावित भइरहेका छन्। सुदूरपश्चिमका कारागारमा ५४५ जना क्षमताभन्दा दोब्बर बढी १,०६६ जना कैदीबन्दी रहेको समेत उनले बताए। बाल सुधार गृह डोटीमा २५ जना क्षमताको ठाउँमा ६१ जना राखिएका छन्।
जोशीले संक्रमणकालीन न्यायको विषयमा सरकार गम्भीर नबनेको बताए। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पुनर्गठन भए पनि प्रभावकारी काम नभएको र संक्रमणकालीन न्यायका मुद्दाहरू राजनीतिक लेनदेनमा सीमित भएको उनको भनाइ छ।