राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि आज बैतडी र दार्चुलाका चार स्थानीय तहमा सार्वजनिक विदा दिईएको छ। बैतडी जिल्लाका दशरथचन्द र पाटन नगरपालिकाले सार्वजनीक बिदा दिने निर्णय गरेका हुन्। राष्ट्रपति भण्डारीले विहीबार दिउँसो २ बजे दशरथचन्द नगरपालिकाको त्रिपुरासुन्दरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ। भण्डारीलाई दशरथचन्द नगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ।
दार्चुलाको मालिकार्जुन गाउँपालिकास्थित मालिकार्जुन मन्दिरको दर्शन भ्रमणका लागि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी पुग्ने भएपछि जिल्लाका दुई स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेका छन्। राष्ट्रपतिको भ्रमण सफल पार्न सबैकको उपस्थितिका लागि शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले एक दिनका लागि सार्वजनिक बिदा दिइएको जनाएका छन्।
बुधबार नगर कार्यपालिकाको निर्णयअनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणप्रसाद जोशीले सूचना जारी गरी राष्ट्रपति भण्डारीको स्वागत गर्न सम्पूर्ण नगरवासीको सहभागिताको लागि अनुरोध गरेको छ। सातौंधामको रूपमा रहेको मालिकार्जुन मन्दिरमा राष्ट्रपति भण्डारीले विशेष पूजापाठ गर्नेछिन्। यस्तै उनको नागरिक अभिनन्दन गर्न तथा स्वागतको लागि गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए।
राष्ट्रपति दर्शन गर्न आउने भएपछि मालिकार्जुन मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले ४० जना नेपाली सेना, एक सय २० नेपाल प्रहरी, ७० जना सशस्त्र प्रहरीसँगै सादा पोशाकका सुरक्षाकर्मी खटाइएको जनाएको छ।