धनगढी, १० पुस । धनगढीमा आयोजित “आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन” कार्यक्रम अन्तर्गत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा महिला नेतृत्व विषयक कार्यशालामा सहभागी महिलाहरूले नेतृत्वमा पारिवारिक दबाब प्रमुख चुनौती रहेको बताएका छन्।
बैजनाथ विपद् व्यवस्थापन समितिकी अध्यक्ष बलदिया रानाले नेतृत्व गर्न विभिन्न पारिवारिक चुनौतीहरूको सामना गर्नुपरेको अनुभव सुनाउँदै भनिन्, “कतिपय परिवारका सदस्यले प्रोत्साहन गरे पनि श्रीमानले विभिन्न कार्यक्रममा जान अनुमति दिनुहुन्न। उहाँले घरको काम गर्नुपर्ने भन्दै बाहिर जान रोक लगाउनुहुन्छ। तर, सासू–ससुराले भने सहयोग गर्ने गरेका छन्।”
उनले समुदायमा बैठक राख्दा पनि सहभागी गराउन निकै कठिनाइ हुने गरेको बताइन्। “घरघरमा गएर बोलाउँदा पनि धेरैले वास्ता गर्दैनन्। बैठकमा बसेर के नै हुने हो र? हाम्रो घरमा काम छ भन्दै बैठकमा आउँदैनन्,” उनले भनिन्।
चर्रा विपद् व्यवस्थापन समितिकी उपाध्यक्ष लक्ष्मी कठरियाले पनि महिला नेतृत्वलाई समाज र परिवारबाट आवश्यक समर्थन प्राप्त गर्न नसक्दा समस्यामा परेको बताइन्। “समाजमा महिलालाई नेतृत्वमा देख्न चाहँदैनन्। परिवारले महिलाको भूमिका मात्र घरभित्र सीमित गर्न खोज्छ। हामीले नेतृत्व गर्न खोज्दा पारिवारिक जिम्मेवारी र समाजका परम्परागत सोचले पछाडि धकेल्छ,” उनले भनिन्।
सिद्ध नाथ विपद् व्यवस्थापन समितिकी नबिता रानाले पनि परिवारका कारण आफूलाई नेतृत्व गर्न कठिन भएको बताइन्। “घरको काम सबै महिलाले नै गर्नुपर्छ भन्ने मान्यताले हामीलाई सीमित बनाएको छ। यस्तो सोचले कार्यक्रम र बैठकहरूमा सहभागी हुन पनि समस्या हुने गरेको छ । ” उनले भनिन्।
कार्यक्रममा मर्सिकोरका प्रतिनिधि सन्देश पनेरु ,लक्ष्मी अवस्थित , संगीता अधिकारी र सिसिएसमा कार्यरत भावना भट्ट र कार्यक्रम संयोजक मणिराज पाण्डेले महिलाहरूको नेतृत्व विकासका लागि यस्तो कार्यशालाको महत्वबारे जानकारी गराएका थिए । सहभागी महिलाहरूले नेतृत्व क्षमताको विकासका लागि यस्ता कार्यक्रमले अझै सहयोग प्रदान गरेको बताएका थिए। चर्रा विपद् व्यवस्थापन समितिकी उपाध्यक्ष लक्ष्मी कठरियाले भनिन्, “पहिले म समाजका अगाडि बोल्न सक्दिनथेँ। तर, अहिले म सबैका अगाडि आफ्नो परिचय दिन र नेतृत्व गर्न सक्षम भएकी छु।”
भीमसेन विपद् व्यवस्थापन समितिकी पूर्व सूचना संयोजक सुनिता रानाले विपद् पीडित गरिब, वृद्ध वृद्धा र सुत्केरीलाई कपडा र खाद्य सामग्री सहयोग गर्दै आएको जानकारी समेत गराइन्। यस्तै, पचपडैया विपद् व्यवस्थापन समितिकी सदस्य राम फुल बडाएरले विपद्का समयमा समितिमार्फत गरिब र सुत्केरीलाई आर्थिक सहयोग गर्ने काम भइरहेको बताएकी थिइन् ।
कार्यक्रममा महिलाहरूले नेतृत्व गर्न आफूलाई पारिवारिक दबाब, आर्थिक अभाव, समय व्यवस्थापन, र समाजको असहयोगजस्ता समस्याहरू सामना गर्नुपरेको बताए। तर, यस्ता कार्यक्रमले महिलाहरूको आत्मविश्वास वृद्धि गर्न, नेतृत्व क्षमताको विकास गर्न, र समुदायमा परिचय स्थापित गर्न सहयोग गरेको उनीहरूको धारणा थियो।
कार्यशालामा महिला नेतृत्वका चुनौती, उपलब्धि र अवसरका विषयमा छलफल गरिएको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा महिलाहरूको सक्रिय सहभागिता र भूमिकालाई सुदृढ बनाउँदै, समुदायमा प्रभावकारी निर्णय प्रक्रिया अगाडि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। आयोजकहरूले यस्ता कार्यशालाले महिलाहरूलाई सामाजिक रूपमा सशक्त बनाउँदै विपद् व्यवस्थापनका प्रयासहरूमा योगदान पु¥याउने विश्वास व्यक्त गरे।
एमरेड परियोजना अन्तर्गत कार्यक्रम मर्सिकोर,एमरेड र सिसिएसको आयोजनामा उक्त कार्यक्रम आयोजना भएको थियो। कार्यक्रममा सामुदायिक विपद् व्यवस्थापन समिति र कार्यदलका कैलाली र कञ्चनपुरका ३४ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
