धनगढी,९ पुस । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ को प्रतिवेदन पेस गरिएको छ । विषयगत समितिमा दफावार छलफल भई स्वीकृत गरिएको उक्त विधेयकको प्रतिवेदन प्रदेशसभाको बुधबारको बैठकमा पेस गरिएको हो ।
सामाजिक विकास समितिका ज्येष्ठ सदस्य शिवराज भट्टले उक्त प्रतिवेदन पेस गरेका थिए । संशोधन गरिएको विधेयकमा प्रतिष्ठानको प्राज्ञसभाको संख्या साविकको भन्दा थप गरिएको छ । यसैगरी प्रतिष्ठानको कुलपति मुख्यमन्त्री र सहकुलपति सामाजिक विकासमन्त्री रहने साबिकको व्यवस्थालाई प्रतिस्थापन गर्दै प्राज्ञ व्यक्तिलाई नै कुलपति र उपकुलपति नियुक्त गनुपर्ने व्यवस्था गरिएको छ ।
मुख्यमन्त्रीलाई प्रज्ञा प्रतिष्ठानको प्रमुख संरक्षक र सामाजिक विकासमन्त्रीलाई संरक्षक रहने व्यवस्था संशोधित विधेयकमा गरिएको छ । बैठकमा सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीले सार्वजनिक लेखा समितिको दोस्रो प्रतिवेदन २०८१ सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।