काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउमा लागेका छन् । निवर्तमान मन्त्री बाँस्कोटाको विषयमा पार्टी भित्र छलफल हुनु हुदैन भन्ने पक्षमा प्रधानमन्त्री ओलीले चट्टानी अडान राखेको स्रोतले जानकारी दियो ।
सचिवालय बैठकमा बाँस्कोटाको विषयमा छानविन हुनुपर्ने आवाज उठेपछि किन छानविन गर्नुपर्यो भन्दै प्रधानमन्त्री ओली जुरुक्कै उठेर प्रतिवाद गरेको स्रोतले जानकारी दियो । मन्त्रीपदबाट राजीनामा दिएपछि छानविनको विषय अख्तियारले छानविन गर्ने भन्दै पार्टी भित्र कुनै छानविनको जरुरी नभएको प्रधानमन्त्री ओलीको तर्क छ । सेक्युरिटी प्रेसको विषयमा बाँस्कोटाले ७० करोडको कमिसन डिल गरेको अडियो प्रकरणको विषयमा राज्यले मात्रै गर्ने कि पार्टी पनि गर्ने भन्ने विषयमा नेकपाका प्रधानमन्त्री ओली र अर्को अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो ।
नेकपाको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले अडियो प्रकरण खुल्ला छलफलमा आइसकेकोले पार्टीले पनि छानविन गर्नपर्ने प्रस्तावमा प्रधानमन्त्री ओलीले ‘स्टप इट’ भन्दै रोकेका थिए । अध्यक्ष ओलीले बाँस्कोटाको छानविन गर्ने भन्दा पनि प्रशंसा गरेको एक स्रोतले जनायो । ‘बाँस्कोटाले राजीनामा दिइसकेका छन्, अब यो विषयलाई किन तन्काउने, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘अब सीआइबी, अख्तियार र संसदले छानविन गरोस् पार्टीमा उनको कुरा उचाल्नु जरुरी छैन ।’
सचिवालय बैठकमा माधबकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र रामबहादुर थापा नेकपा अध्यक्ष दाहालको भनाइमा सहमत जनाउँदै छानविन गर्ने पक्षमा उभिएका थिए । बाँस्कोटाको बचाउमा प्रधानमन्त्री ओली, विष्णु पौडेल एक ठाउँमा उभिएका थिए । प्रधानमन्त्री ओली र नेता पौडेल बाँस्कोटाको विषयमा छानविन पार्टीमा गर्न नहुने भन्दै बैठकमा उत्रिएको स्रोतले बताए । प्रधानमन्त्रीको चट्टानी अडानका कारण अब बाँस्कोटाको विषयमा कुनै छानविन नहुने भएको छ ।