धनगढी, ७ माघ / चार महिना पछि बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा सरकारको आलोचना गरिएको छ । असोज ६ गते चालु आर्थिक वर्षको बजेट पारित गर्न बसेको प्रदेशसभाको बैठक पछि स्थगित सदन आइतबार बसेको थियो । बैठकमा प्रदेशसभा सदस्यहरुले विशेष समयमा आफ्ना धारणा राख्ने क्रममा सरकारको आलोचना गरेका हुन । प्रदेश सभामा बोल्दै माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता मानबहादुर धामीले चार महिना सम्म सरकारले गरेका काम सदनमा जानकारी नगराइएको भन्दै आपत्ती जनाए । उनले प्रदेश सरकार स्थायी राजधानी स्थापनाका विषयमा बेखबर रहेको बताए । उनले भने ‘प्रदेशसभा स्थापना भएको आठ वर्षसम्म पनि राजधानी स्थापनाको निर्णय कार्यान्वयन गर्ने वा नगर्ने भनेर टुंयो लगाइएको छैन । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
प्रदेशसभा सदस्य डा. तारा जोशीले सरकारले कार्यतालिका बनाएर काम गर्नुपर्ने बताए । उनले मुख्यमन्त्रीले कार्यतालिका बनाएर जानुपर्ने कुरामा जोड दिँदै आम नागरिकका असन्तुष्टिलाई कार्यतालिकाबिना सम्बोधन गर्न नसकिने बताए । जोशीले लामो समयपछि बैठक बसेकोले आफूलाई भर्खर चुनाव जितेर आएको जस्तो अनुभूति भएको भन्दै कटाक्षसमेत गरे ।
विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य खेमादेवी बिष्टले सुदूरपश्चिममा झुट बोल्नेहरुको तथ्याङ्क निकाले एक नम्बरमा मुख्यमन्त्री नै पर्ने बताइन् । बिष्टले गुप्तवासमा बसेको सरकारको दर्शन गर्न पाइएको भन्दै सरकारप्रति कटाक्ष गरिन् । उनले प्रदेशसभा सरकार बनाउन, गिराउन, बजेट बनाउनमा मात्रै केन्द्रित रहेको बताइन् । उनले भनिन् ‘सरकार बनाउने बेलामा देखिन्छ । सरकार बनाउन कसैसँग हात जोर्न पछि पर्दैन । तर सरकार बनेपछि सबै बिर्सिन्छ । हराउँछ । गाउँमा जाँदा युवा भन्ने जात भेटिरहेको छैन । प्रदेशको समृद्धि कागजको खोस्टोमा मात्रै भयो ।’
एकीकृत समाजवादीका प्रदेशसभा सदस्य प्रकाश रावलले चार महिनासम्म प्रदेशसभा बैठक नहुँदा सरकार हराएको गुनासो आउने गरेको बताए । प्रदेसभा सदस्यले जहाँ गए पनि गाली खानुपर्ने अवस्था सृजना भएको उनले बताए । ‘माननियज्यूहरु जता गयो त्यहिँ गाली खानुपर्ने अवस्था छ,’ उनले भने, ‘यो अवस्था सृजना गर्ने काम हामीबाटै भएको छ । प्रदेश सरकारको औचित्य छैन भन्न थालिएको छ । यो अवस्थालाई सुधार गर्न आवश्यक छ ।’
नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक विक्रम धामीले प्रदेश सरकारप्रति गुनासो बढ्दै गइरहेको बताए । उनले प्रदेशलाई बदनामीबाट मुक्त गर्नका लागि सबै मिलेर उपयुक्त वातावरण मिलाउन आवश्यक रहेको बताए । ‘त्यो वातावरण बनाउन सकिएन भने आगमी दिनहरु अझै खराब हुँदै जानेछन्,’ उनले भने
सुदूरपश्चिम प्रदेशसभा सदस्य रामेश्वर चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को मनोपोली (एकाधिकार) ले गर्दा दूध बाहिरी प्रदेशमा गइरहेको बताए । प्रदेश सभा बैठकमा आफ्ना धारणा राख्दै उनले डीडीसीको मनोपोलीले दूध अन्य प्रदेशमा गइरहेको बताएका हुन् । पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री समेत रहेका उनले यस प्रदेशमा मिल्क पाउडर प्लान्ट स्थापना गर्नको लागि संघ सरकारबाट ४९ करोडको बजेट आए पनि कार्यान्वयनमा प्रश्न चिन्ह रहेको बताए ।
‘गत वर्ष हामीले यहाँ मिल्क पाउडर प्लान्ट ल्याएका छौ । अहिले पनि त्यो मिल्क पाउडर प्लान्टमा प्रश्न चिन्ह आएको छ’ उनले भने ‘गत वर्ष हामीले ४७ करोडको मिल्क पाउडर प्लान्ट र वधशालाको लागि बजेट माग गरेका थियौ । त्यसमा १२ करोड आएको छ । मलाई त शङ्कै छ । त्यो मिल्क पाउडर प्लान्ट पनि फ्रिज हुने हो की ?’ उनले दूधमा सुदूरपश्चिम प्रदेश आत्मनिर्भर भए पनि डीडीसीको मनोपोलीले दूध बाहिरी प्रदेशमा गइरहेकोले यहाँ मिल्क पाउडर उत्पादन गर्न योजना अघि सारिएको बताए । उनले वधशाला पनि यही बनाउने सके चाइना, भियतनाममा मासु पनि निर्यात गर्न सकिने बताए ।
मिल्क प्लान्ट अत्तरियामा निर्माण गर्नको लागि कृषि उपज थोक बजार समितिले पनि जग्गा खोजीको प्रक्रिया अगाडि बढाएको भए पनि जग्गा नपाउँदा प्रक्रिया रोकिएको थियो ।
यसैबिच सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिइएको छ । आइतवारको प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभा सचिवालयका सचिवलाई निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका हुन । प्रदेश सभाअन्तर्गतका सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापतिको पद रिक्त छ । सभापतिको निर्वाचन घोषणा गरिए पनि दलहरूबिच सहमति हुन नसकेपछि निर्वाचन स्थगित गरिएको थियो । सभामुख भण्डारीले स्थगित निर्वाचन प्रक्रिया सुचारु हुने गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका हुन ।