लवदेव धामी
पुष, ३ / पत्रकारिता राज्यको चौथो अङ्ग अमेरिकाबाट भनिन सुरु गरिएर नेपालमा पनि लागु भएको धेरै भयो र भनिन्छ। पत्रकारिता चौथो अङ्ग जुन अङ्ग स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुनुपर्छ ,पारदर्शी हुनुपर्छ र जवाफदेही हुनुपर्छ यावत विषयहरु यसभित्र अटाउँछन् तर पछिल्लो समयमा पत्रकारिताको आवरण एउटा र भित्र अर्कै भैदिँदा पत्रकारिता र पत्रकारप्रतिको विश्वास , आशा र अभिलाषा मर्दै गएको देखिन्छ ; यसको कारण पछिल्लो समयमा देखिएको पत्रकारिताको रङ्ग नै हो।
पत्रकार र पत्रकारितालाई मर्यादित बनाउनको लागि एउटा पत्रकारको साझा संगठन नेपाल पत्रकार संघ ( वि सं २०१२ चैत १६)को पछि (वि सं २०५३ जेठ २९ )महासंघ भएर निरन्तरता पाएको छ। यो वर्ष नेपाल पत्रकार महासङ्घको कार्यसमिति चयनका लागि लामो समयदेखि विभिन्न विधा उपविधामा विवाद हुँदै आयो र कैयौं पटक चुनावको मिति तोकियो तर कार्यान्वयनमा भने आउन सकेन कारण पत्रकारीता भित्रको किचलो र भागबण्डा नमिल्नु जस्ता विषयहरु नै हुन् ।
सदस्यता वितरणमा भएको झमेलाले पत्रकार महासङ्घको शीर्ष पदमा रहेका नेतृत्वहरूले राजीनामा दिँदै दिँदै जानुपर्ने अवस्था आयो जसले गर्दा अब पत्रकार महासङ्घको चुनाव हुँदैन कि भन्ने सम्मका कुरा पनि पत्रकारहरुले नै ग्याँइगुँइ गर्न थाले। आज अन्तिममा आएर चुनाव त भयो तर भन्छन् नि “चपाउने दाँत र देखाउने दाँतमा फरक छ” , हो त्यही भयो। पत्रकारिता र पत्रकार स्वतन्त्र हुनुपर्छ, राजनीतिक पार्टीको झोले हुनुहुँदैन, जनताप्रति र राज्यप्रति वफादार हुनुपर्छ। तर यो नियम पत्रकार महासङ्का कुनै पनि पदाधिकारीहरुले लागू गर्ने छैनन् कारण पत्रकार महासंघमा निर्वाचित एक एक पदाधिकारी कुनै न कुनै पार्टीको झन्डा बोकेकै मान्छे हुन्। या भनौ नेताका खल्तीकै मान्छे हुन्। त्यसैले स्वतन्त्र पत्रकारिता र निष्पक्ष पत्रकारले स्थान पाउनेछन भन्ने विषयमा ढुक्क हुन गाह्रो अझ भनौ असम्भव नै छ।
यसपटक राजनीतिक दलमा सरकार बनाउन कांग्रेस एमालेले गठबन्धन गरेजस्तै दलका पत्रकार भातृसंगठन प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरे र चुनाव जिते टिकट नपाउनेले बागी उमेदवारी दिए र कारबाहीमा परे अब यो कस्तो स्वतन्त्रता म रन भुल्ल छु । के पत्रकारिता कुनै पार्टीको झण्डा नबोगी गर्न नमिल्ने हो र ? या भनौ पत्रकार महासंघमा पदाधिकारी हुन पार्टीको झण्डा बोक्नैपर्छ र ? के हामीले पत्रकारिताको मर्म भुलेकै हौँ त ? यस्ता तमाम प्रश्नले एक एक श्रमजीवी अथवा स्वतन्त्र पत्रकारिता गर्छु भनेर मैदानमा उत्रिएका पत्रकारलाई अनुत्तरित वा नेताको झोले कार्यकर्ता बन्न र पार्टीको झण्डा बोक्न विवस बनाइरहेका छन्।
पत्रकार महासङ्घमा जाने पदाधिकारी नै पार्टीसँग आबद्ध कार्यकर्ता भएपछि तीनै पार्टीले चलाइरहेको सरकार अब स्वतन्त्र छ, जे पनि गर्न सक्छ। भ्रष्टाचार , दलाली, जग्गा प्रकरण, सुन प्रकरण, शरणार्थी प्रकरण अब सबै विषयहरू गुमनाम हुनेछन्। कुनै पनि मिडियाले लेख्ने छैनन् लेखिहाले पनि खुलेर आलोचना गर्ने छैनन्। गर्नेछन् त केवल भक्ति, जसमा ती पार्टीका उच्च पदस्थ नेता अथवा सरकारमा सहभागी भएका व्यक्तित्वहरू हुनेछन् । पत्रकारहरु तिनकै बोली लेख्नेछन् र तिनकै भाषा बोल्नेछन् सायद मिडिया पनि काङ्ग्रेसी , एमाले, माओवादी, समाजवादी, स्वतन्त्र पार्टीका आआफ्नै हुनेछन् ।
अब यस्तै पनि हुनुपर्छ किनकि सबैले सबै चिन्न पनि त गाह्रो छ । आफ्नो कुरा आफैसित भनेझै हुनुपर्छ ; ताकि बोल्नेहरू ढुक्क भएर बोल्न सकुन् र लेख्नेहरू ढुक्क भएर लेख्न सकुन्। पत्रकारिता क्षेत्रमा जसले जस्तो सिद्धान्त ,मर्यादा, नीति, नियम , विधि, विधान जे जे पढे पनि अबको पत्रकारिता राजनीतिक भागबण्डा नै हो ।