यमुना साउद / लवदेव धामी
धनगढी, २२ मंसिर/ धनगढीको गौरीफन्टा नाका हुँदै भारतको विभिन्न स्थानमा यात्रा गर्ने यात्रुको टिकटमा गाडी नम्बर नराखिएको पाइएको छ । टिकट काट्ने टिकट काउन्टरले अरू सबै टिकटमा खुलाए पनि गाडी नम्बर नखुलाइएको र यात्रुलाई अर्को यातायातको गाडी देखाएर “हाम्रै गाडी हो” भनी नाकामा छल्ने गरेको देखिएको छ ।
टिकट काट्ने काउन्टरहरूले यात्रुहरूलाई अन्य गाडी देखाएर “हाम्रै गाडी हो” भन्दै झुक्काउने र भारतको पलियासम्म मात्र लैजाने गरेको खुलेको छ। यात्रुहरूको गुनासो र पीडालाई बुझेर सुदूर पत्र अनलाइनको टिम स्थलगत रिपोर्टिङमा गौरीफन्टा नाका बजार क्षेत्रमा गई सोधपुछ गर्दा स्वयं टिकट काउन्टरमा रहेका टिकट काट्ने प्रतिनिधिहरूले टिकट काटेर पलिया सम्म लग्ने र त्यहाँबाट अर्को समितिको गाडीमा लग्ने गरेको बताए ।
स्थानीय स्तरमा सञ्चालन गरिएका हिमडुङ्ग टुर एन्ड ट्राभल्स प्रा.ली र त्रिनेत्र गोदावरी टुर एन्ड ट्राभल्स प्रा.लीका टिकटमा गाडी नम्बर उल्लेख नगर्ने प्रवृत्ति देखिएको छ । त्रिनेत्र गोदावरीका प्रतिनिधि अविनाश सिंहले आफूहरूले यात्रुलाई भारतीय नम्बर प्लेटका ट्याक्सीमा पलिया पु¥याउने र त्यहाँबाट अर्को गाडीमा पठाउने गरेको स्वीकार गरेका छन्। यात्रुहरूले गाडी नम्बर नलेखिएका कारण गन्तव्यमा पुग्न कठिनाइ भोग्नुपरेको र बिच बाटोमै अलपत्र पारिएको गुनासो गरेका छन्।
नेपाली यातायात प्रा.लीका बदनाम
वैधानिक रूपमा सञ्चालनमा रहेको सुन्दर सुदूरपश्चिम यातायात प्रा.लीका प्रतिनिधिहरूले अन्य कम्पनीहरूको अवैधानिक गतिविधिका कारण आफूहरू पनि प्रभावित भएको बताएका छन्। कम्पनीका प्रतिनिधि दीपक चौधरीले भने, “यात्रुलाई भ्रममा पारेर अन्य यातायात प्रा.लीहरूले गलत तरिकाले टिकट काट्दा हाम्रो प्रतिष्ठामा असर परिरहेको छ।”
अर्का प्रतिनिधि उदिप श्रेष्ठले अवैधानिक रूपमा टिकट काट्ने कम्पनी र भारतीय नम्बर प्लेटका ट्याक्सीहरूप्रति प्रशासनलाई पटक–पटक जानकारी गराए पनि कुनै कारबाही नभएको गुनासो गरे।