लवदेव धामी
धनगढी, १५ मंसिर/“एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ“ भन्ने मूल नाराका साथ आज ३७ औँ विश्व एड्स दिवस मनाईदैछ । धनगढीमा पनि आज बिहान प्रभातफेरी निकालेर मनाइएको छ । स्वास्थ्य कार्यालय कैलालीको आयोजना तथा प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीको तथ्याइक अनुसारमा सुदूरपश्चिम प्रदेशभरि आर्थिक वर्ष २०८०/०८१ सम्म एचआइभी संक्रमित हरूको अनुमानित संख्या ४ हजार २ सय ६५ रहेको र जसमध्ये ४ हजार ९ जनामा एचआइभी संक्रमण पत्ता लागेको छ। त्यसैगरी प्रदेशभरि ३ हजार ७ सय २३ जना उपचारमा रहेका छन्। साथै १ हजार ९ सय २० जनाको भाइरललोड कम भएको तथ्याङ्क रहेको छ ।
स्वास्थ्यकार्यालय कैलालीको आयोजना तथा प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीको सहकार्यमा शनिबार विश्व एड्स दिवसको अवसरको पुर्बसन्ध्यामा धनगढीमा पत्रकारसँग अन्तरक्रिया गरिएको छ। पछिल्लो अवस्थामा विश्वभरिको एचआइभी तथा एड्सको अवस्था र नेपालमा एचआइभी तथा एड्सको अवस्थका बारेमा छलफल गरिएको थियो।
पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय राजपूर डोटीको अनुसार सुदूरपश्चिमभरिको एचआइभी एड्सको अवस्थाका बारेमा समेत अन्तरक्रिया कार्यक्रममा विस्तृत छलफल र आगामी कार्यदिशाबारे समेत चर्चा गरिएको थियो।
यसैगरी सुदूरपश्चिममा एचआइभीको अवस्था हेर्दा प्रदेशभरि १ लाख ११ हजार १ सय ४९ जनाको परीक्षण गर्दा २ सय १४ जनामा एचआइभी पोजेटिभ देखिएको तथ्याङ्क रहेको छ । यसरी हेर्दा प्रदेशभरि उपचारमा ५६ प्रतिशत महिला ४३ प्रतिशत पुरुष र १ प्रतिशत अन्य उपचार गराइरहेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा पत्ता लागेका नयाँ संक्रमितको सङ्ख्या २सय१८ रहेको छ। जसमध्ये ८५ महिला १ सय २९ पुरुष र ४ जना यौनिक अल्पसंख्यक रहेका छन् ।
जसमध्ये ८० महिला १ सय २३ पुरुष र ११ यौनिक अल्पसंख्यक गरी १सय१४ जना उपचारमा दर्ता भएका छन्। जुन सङ्ख्या अघिल्लो वर्षभन्दा न्यून हो। त्यसमध्ये ६४ जना संक्रमितको एड्सका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा २३ महिला ४० पुरुष १ यौनिक अल्पसंख्यक रहेको तथ्याङ्क प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीसँग रहेको छ।
यस्तै अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूको पनि एचआइभी एड्स जस्ता रोगहरूको खतरालाई कम वा रोकथाम गर्नमा ठूलो भूमिका रहेकोबारे समेत आयोजकले बताए। सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरूले यस्ता कैयौं महामारीहरूलाई उन्मूलन गर्न ठूलो भूमिका खेलेको र एचआइभी एड्स जस्ता रोगहरूलाई निवारण गर्न समेत आफूहरू लागिरहनेमा समेत विश्वस्त गराए।