धनगढी, ८ मंसिर/वरिपरि जङ्गलको रमणीय दृश्य छ । बीचमा सुन्दर प्राकृतिक ताल । ताल परिसरमा बालबालिका देखि वयस्क रमाउँदै छन् । कैलालीको कोइलही ताल क्षेत्रमा आज देखिएको दृश्य हो, यो । कैलारी गाउँपालिका –९ मा रहेको यो ताल आन्तरिक पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य बनेको छ । सार्वजनिक बिदाका बेलामात्रै नभई अन्य दिन पनि यो तालमा घुमफिर गर्न र पिकनिक खानेका लागि गन्तव्य बन्दैगएको छ । आन्तरिक पर्यटकले कोइलही ताल खचाखच हुन थालेको छ ।
‘बिदाको दिन अझै बढी मान्छे हुन्छन्’, कैलाली वडा नम्बर ९ का वडा खेमराज चौधरी भने, ‘अरू दिन पनि घुम्न आउनेको सङ्ख्या कम छैन ।’ दिनहुँ दुई तीन सय मान्छे घुमफिर गर्न र पिकनिक खानका लागि कोइलही ताल आउनेगरेको उनको भनाइ छ ।यो तालमा पर्यटकका मनोरञ्जनका लागि डुङ्गा सञ्चालन हुँदैआएको छ । ताल अवलोकन र घुमफिर गर्न आएकाहरू डुङ्गामा सयर गरेर आनन्द लिनेगरेका छन् । पिकनिक खानका लागि मात्रै नभई शैक्षिक भ्रमणका लागि टाढा–टाढाको विद्यालयका विद्यार्थी, शिक्षक पनि कोइलही ताल पुग्ने गर्छन् ।
चाडपर्वपछि धेरैजसो मान्छे पिकनिक खानका लागि कोइलही ताल आउनेगरेका स्थानीयवासी बताउँछन् । ताल परिसरमा पिकनिक क्षेत्र बनाइएको छ । पिकनिक क्षेत्रमा हरेक दिन घुइँचो लाग्नेगरेको वडा अध्यक्ष चौधरीले बताए ।यसैगरी, विभिन्न सङ्घसंस्था, समूह र शैक्षिक संस्थाका कर्मचारीहरू संस्थागत छलफलसहित रमाइलो गर्नका लागि पनि कोइलही तालमा पुग्नेगरेका छन् । तालमा अफिसको मिटिङ सहित पिकनिकका लागि पहिलो रोजाई बन्ने गरेको पर्यटक बताउने गरेका छन् । एक दिन घुमघाम गरेर फर्कन सकिने भएकोले छोटो समयमा घुमघाम गर्न चाहनेहरूका लागि यो ठाउँ राम्रो गन्तव्य बनिरहेको कैलारी ६ बनकट्ट देवेन्द्र हमाले जानकारी दिए ।
७२ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताललाई आर्थिक वर्ष २०७३–७४ मा थोरै व्यवस्थित गर्ने कार्य भएको थियो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको तालतलैया एवम् सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत ९७ लाख ७४ हजार रुपियाँ खर्चेर व्यवस्थापनको साथै केही संरचना बनाउने कार्य भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैं, तिहार सकिएपछि हरेक वर्ष हिउँद यामभरी पर्यटकको घुइँचो लाग्ने गर्छ । आन्तरिक पर्यटकको चहलपहल बढेपछि कोइलही ताल क्षेत्रमा व्यापार व्यवसाय पनि फष्टाएको छ ।




