धनगढी, ४ मंसिर । नेपाल विद्यार्थी संघ बाजुराले स्व. सञ्जीव ऐडीको दोस्रो स्मृति दिवस विशेष कार्यक्रम गरी मनाएको छ। स्व. ऐडी नेपाल विद्यार्थी संघ बाजुरा काठमाडौं सम्पर्क समितिका सक्रिय सदस्य थिए। उनी लामो समयदेखि राजनीतिक गतिविधिमा अग्रसर रहँदै आएका थिए। २०७९ साल मंसिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभा चुनावको क्रममा नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा सरकारले चलाएको गोली लागी उनको निधन भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व उपसभापति देवबहादुर रोकायाले ऐडीको बलिदानले लोकतन्त्रका लागि गरिने संघर्षलाई प्रेरणा दिएको बताए। त्यस्तै, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भरत बुढा र अन्य सहभागीहरूले ऐडीको स्मरण गर्दै उनलाई श्रद्धाञ्जलि अर्पण गरे।
कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी संघ बाजुराका अध्यक्ष जनक थापाले गरेका थिए। स्मृति दिवसको क्रममा संघले ऐडीको मृत्युमा दोषीलाई कारबाही गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन नेपाल सरकारसँग माग गरेको छ।
नेपाल विद्यार्थी संघ बाजुराले ऐडीको बलिदानलाई न्याय दिलाउन सबै तह र क्षेत्रबाट पहल जारी राख्ने बताउँदै, ऐडीको योगदानको स्मृतिमा संघर्षलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएको छ। नेपाल विद्यार्थी संधले नेपाल सरकारबाट गोली लागेर मृत्यु भएका ऐडिलाई सरकारले पनि सहिद घोषणा गर्नुपर्छ भन्ने माग समेत गरेका छन्
कार्यक्रममा तरुण दलका नेता भूपाल रोकाया, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य धनलाल पाध्यायलगायतका व्यक्तित्वको उपस्थिति थियो। स्मृति दिवस संघको कार्यालयमा आयोजित कार्यक्रममा सम्पन्न भएको हो।