महेन्द्रनगर ९ कार्तिक/कञ्चनपुरको लाल झाडी गाउँपालिका–१ बिनावारिमा श्रीमान्–श्रीमती मृत अवस्थामा भेटिएका छन्। बिनावारिका ४५ वर्षीय रमेश बडातक र ४३ वर्षीय कमला बडायक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका उमेशप्रसाद जोशीले बताए।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख जोहीका अनुसार उनीहरू दुवै जना शुक्रवार बिहान मृत फेला परेका बताए । उनकाअनुसार घरको आँगनमा दुवै जना मृत फेला परेका हुन् । शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकोले श्रीमानश्रीमतीको हत्याको आशङ्का गरिएको छ । श्रीमान्–श्रीमती मृत अवस्थामा भेटिएको सूचना प्राप्त भएपछि घटना स्थलमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय बेलौरी र पुनर्वासको टोली पनि खटिएको छ। घटनाको विवरण सङ्कलन तथा प्रमाण सङ्कलनको काम भइरहेको छ। मृतको टाउकोमा चोटपटक देखिएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक महेश विक्रम शाहले बताए। उनले घटनाको थप अनुसन्धान भइरहेको बताए। स्थानीयले बडातक दम्पतीको हत्या भएको आशङ्का गरेका छन्।