बैतडी,१५ असोज / बैतडीमा सरकारी कार्यालयबाट हुने सूचना प्रवाहलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउन सूचना अधिकारीहरूको बैठकले विभिन्न निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मिना अर्यालको अध्यक्षतामा बसेको सरकारी कार्यालयका सूचना अधिकारीहरूको बैठकले सर्वसाधारणलाई सहज र पारदर्शी रूपमा सूचना उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउने निर्णय गरेको हो ।
बैठकले जिल्लास्थित सबै सरकारी कार्यालयले आफ्ना नियमित काम, गतिविधि तथा कार्यक्रमका विवरण अनिवार्य रूपमा कार्यालयका आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
कतिपय सरकारी कार्यालयले नियमित रूपमा सार्वजनिक गर्नुपर्ने सूचना तथा विवरण वेबसाइटमा अद्यावधिक नगरेको पाइएकाले अब त्यसलाई कडाइसाथ कार्यान्वयन गरिने उनले बताउए । सहभागीलाई सूचनाको हकसम्बन्धी कानुन अनुसार प्रत्येक कार्यालयले तीन÷तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने विवरणलाई थप प्रभावकारी र स्तरीय बनाउनुपर्नेमा जोड दिइएको थियो । आगामी एक हप्ताभित्र आफ्ना वेबसाइट पूर्ण रूपमा अद्यावधिक गर्न सबै सरकारी कार्यालयलाई निर्देशन दिइएको छ ।
सूचना प्रवाहको अवस्था र बैठकका निर्णय कार्यान्वयन भए÷नभएको नियमित अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सूचना अनुगमन उपसमिति गठन गर्ने निर्णयसमेत गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।
सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८० तथा सूचनाको हकसम्बन्धी प्रचलित कानुनी व्यवस्था अनुसार सूचना प्रवाहलाई व्यवस्थित गर्दै नागरिकको सूचनामा पहुँच सहज बनाउने उद्देश्यले बैठक आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।