धनगढी ५ असोज/ नेपाल सरकारले लोककल्याणकारी विज्ञापनबापत सञ्चारमाध्यमले पाउने रकममा भारी कटौती हुने गरी कार्यविधि संशोधन गरेको विरोधमा नेपाल पत्रकार महासंघ कैलाली शाखाले हुलाक निर्देशनालय कैलालीमा ज्ञापनपत्र बुझाएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार असोज ५ गते महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाद्वारा हस्ताक्षरित ज्ञापनपत्र हुलाक निर्देशनालयमा बुझाइएको हो ।
ज्ञापनपत्रमा आर्थिक वर्ष २०८३/ ०८४ को बजेटसँग बाझिने गरी ल्याइएको अनुदार कार्यविधि तत्काल खारेज गर्न माग गरिएको छ । साथै, महासंघका माग सम्बोधन नभएसम्म लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरिएको छ । ज्ञापनपत्र बुझ्दै हुलाक निर्देशनालय कैलालीका प्रमुख शिद्धराज जोशीले पत्रकारका मागलाई ध्यानमा राख्दै केन्द्रमा पठाउने बताएका छन् । महासंघले आफ्ना मागहरू अविलम्ब सम्बोधन नगरिए थप कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनीसमेत दिएको छ ।