धनगढी ५ असोज/ सुदूरपश्चिममा सम्पन्न एसियन पेन्ट्स यू-१८ ब्वाइज एन्ड गर्ल्स अल नेपाल इन्टर स्कुल फुटबल प्रतियोगिता–२०२६ मा कञ्चनपुरले पुरुष र महिला दुवै विधाको उपाधि जितेको छ। भदौ २७ गतेदेखि असोज ५ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको पुरुष फाइनलमा कञ्चनपुरको एसपीएल एकेडेमीले मिलन विद्या निकेतनलाई १-० गोलले पराजित गर्दै उपाधि हात पार्यो। महिलातर्फ भने कञ्चनपुरकै श्री जीवन ज्योति माध्यमिक विद्यालयले सिद्धार्थ माध्यमिक विद्यालयलाई ५-० गोलको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बन्यो।
दुवै विधामा उपाधि कञ्चनपुरमा गएसँगै प्रतियोगितामा जिल्लाको विद्यालयस्तरीय फुटबलको बलियो उपस्थिति देखिएको छ। अब दुवै विजेता टोलीले सातै प्रदेशका विजेता टोलीसँग राष्ट्रियस्तरको प्रतिस्पर्धामा सहभागी हुने अवसर पाउनेछन्।
विजेता महिला र पुरुष टोलीलाई निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तको तर्फबाट जनही ११ हजार रुपैयाँ तथा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्दको तर्फबाट जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताको समापन समारोह अल स्टार स्पोर्ट्स एकेडेमी धनगढीका अध्यक्ष तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी राघवेन्द्र कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो। निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्त प्रमुख अतिथि रहेको समारोहमा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता थियो।
समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य तथा सुदूरपश्चिम फुटबल संघका महासचिव कासीराम बोहरा, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशी, पूर्व राष्ट्रिय खेलाडी तथा खेलकुद क्षेत्रका अन्य प्रतिनिधिको उपस्थिति रहेको थियो।
विद्यालयस्तरबाटै फुटबल प्रतिभा पहिचान गरी राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले सुदूरपश्चिमका युवा खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर दिएको प्रतियोगिताका आयोजक समिति सदस्य महेश जोशीले जानकारी दिए ।