काठमाडौं ५ असोज/आगामी असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष मौसमी बुलेटिन जारी गर्दै एक-दुई स्थानमा ‘अति भारी’ वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
“आगामी असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ,” महाशाखाले जारी गरेको विशेष मौसमी बुलेटिनमा उल्लेख छ ।
साथै, मधेस प्रदेश तथा कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन चट्याङ हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको थोरै स्थानमा पनि भारी वर्षाको पूर्वानुमान महाशाखाले गरेको छ ।
त्यसदिन देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । “उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भूभाग आसपासमा रहेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्र भई पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ र यसको प्रभावले बुधबारबाट नै कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिन्छ,” महाशाखाले जारी गरेको सूचनामा भनिएको छ ।
सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनलगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन भनिएको छ ।