धनगढी,३१ भदौ / सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा चालु आर्थिक वर्ष २०८३÷०८४ को भदौ महिनामा २१६ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ३६५ जना घाइते भएका छन् ।
बुधबार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक नवराज कार्की दुर्घटनामा ९ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको बताएका छन् । दुर्घटनामा ३५ जना गम्भीर र ३३० जना सामान्य घाइते भएका छन् ।सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दैनिक चेकजाँचलाई व्यवस्थित गर्दै साप्ताहिक सवारी चेकजाँच तालिका लागू गरेको प्रहरी उपरीक्षक कार्कीले बताए ।
यस्तै, सवारी परीक्षण कार्यालय अत्तरियाको प्राविधिक सहयोगमा सवारी साधनको यान्त्रिक परीक्षणसम्बन्धी कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ । भदौ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ३५५ सवारी साधनलाई कारबाही गरी २७ लाख ४८ हजार ५०० रुपैयाँ जरिवाना संकलन गरिएको छ ।
यस्तै, मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९३ जना चालकलाई कारबाही गरी ३ लाख ४० हजार ५०० रुपैयाँ जरिवाना गरिएको छ ।
सार्वजनिक यात्रुवाहक सवारीका चालकको तीन पटक मादक पदार्थ सेवन परीक्षण गर्दा ६ जना चालकमा परीक्षण पोजेटिभ देखिएको र उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।